कपिलवस्तु, ०६ माघ । नेकपा एमालेका नेता तथा पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ‘तारा’बाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
गुप्ताको उम्मेदवारीमा धर्मबहादुरलाल श्रीवास्तव प्रस्तावक र रामदास चौधरी समर्थक रहेका छन्। पूर्व केन्द्रीय सदस्य समेत रहेका गुप्ता कपिलवस्तुबाट चार पटक संघीय सांसद निर्वाचित भइसकेका अनुभवी नेता हुन्।
इन्जिनियरको स्थायी जागिर त्यागेर २०५६ सालदेखि सक्रिय राजनीतिमा होमिएका गुप्ताले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु गरेका थिए। त्यसपछि तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै नेकपा एमालेमा प्रवेश गरेका गुप्ता हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।
संसदीय अभिलेख अनुसार गुप्ताले २०५६ सालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा तमलोपा तर्फबाट कपिलवस्तु–३ बाट विजयी हुँदै संविधानसभामा पार्टीको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरे। २०७० सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भई तमलोपा संसदीय दलको उपनेतासम्मको भूमिका निभाए।
पछि नेकपा एमाले प्रवेश गरेका गुप्ताले २०७४ सालमा कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका उनी कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग पराजित भएका थिए।
राजनीतिमा सक्रिय भएपछि छैठौं पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका गुप्ताले यसपटक नेपाली कम्युनिस्ट पार्टी रोज्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

