स्वतन्त्र उम्मेद्वार आशिषको बाणगंगा युवा परिचालनमा समाजसेवी खाँण


पालिका पत्र

१२ माघ २०८२, आईतवार १०:३२ मा प्रकाशित

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनाव चिन्ह जीप लिएर चुनावी मैदानमा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित शर्माले शनिबार बाणगंगा नगरपालिका–स्थित बैरिया रहेको मायादेवी रिसोर्टमा युवाहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा बाणगंगाका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा उम्मेदवार शर्माले युवालाई केन्द्रमा राखेर विकासको खाका अघि सारेका थिए। उनले भने, “अबको समय युवाको हो। कपिलवस्तुको मुहार परिवर्तन नभएसम्म ‘घर कहाँ हो ?’ भन्ने प्रश्नमा कपिलवस्तु भन्न हामीलाई अझै गाह्रो छ। म यो पटक परीक्षामा होमिएको छु, मलाई साथ दिनुहोस्। कपिलवस्तुको समग्र विकासका लागि म प्रतिबद्ध छु।”

शर्माले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने घोषणा गर्दै यी क्षेत्रको सुधारका लागि दिनरात नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, शर्माको प्रचार–प्रसार तथा चुनावी अभियानलाई सशक्त बनाउन बाणगंगामा राजकुमार खाँणको संयोजकत्वमा १४ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा शिव थारु र मदन भट्टराई रहेका छन्।

समितिअन्तर्गत वडा नं. १ बाट दिपेन्द्र थापा, वडा नं. २ बाट कमल कार्की, वडा नं. ३ बाट सन्तराम थारु, वडा नं. ४ बाट कमल मल्ल, वडा नं. ५ बाट लक्ष्मण भुसाल, वडा नं. ६ बाट बसन्त पाण्डे, वडा नं. ७ बाट शंकर न्यौपाने, वडा नं. ८ बाट हरि मल्ल, वडा नं. ९ बाट रमेश आचार्य, वडा नं. १० बाट मदन केसी र वडा नं. ११ बाट बसन्त कँडेल सदस्य रहेका छन्। यस्तै, विद्यार्थी परिचालन समितिको संयोजकमा मनोज न्यौपाने चयन भएका छन्।

कार्यक्रममा सहभागी युवाहरूले नयाँ सोच र दृष्टिकोणसहितको युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा पर्यटन प्रवर्द्धनलाई कपिलवस्तुको भविष्यसँग जोडिएको विषयका रूपमा उठाएका थिए।

युवाहरूलाई सम्बोधन गर्दै शर्माले भने, “अब हामीले अवसर गुमाउनु हुँदैन। कपिलवस्तुमा परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो पुस्ताकै हो।”

कपिलवस्तुमा युवाहरूको बढ्दो सक्रियता र स्वतन्त्र उम्मेदवारको प्रतिबद्धताले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी माहोल थप चञ्चल बन्दै गएको छ। आगामी निर्वाचनमा यहाँको प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्