ए.भि.एम.एकेडेमीमा खेलकुद सप्ताह उत्साहपूर्वक सम्पन्न


पालिका पत्र

१७ माघ २०८२, शुक्रबार १४:३८ मा प्रकाशित

१६ माघ

ए.भि.एम.एकेडेमीमा, बाणगंगा–५, कपिलवस्तुमा विभिन्न खेल गतिविधिहरू समेटिएको खेलकुद सप्ताह उत्साहजनक रूपमा सम्पन्न भएको छ । खेलकुद सप्ताहमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहनुका साथै शिक्षक–कर्मचारीहरूको सक्रिय भूमिका देखिएको थियो ।

विभिन्न कक्षा तथा सदनगत रूपमा आयोजना गरिएका दर्जनभन्दा बढी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने तीन दर्जनभन्दा बढी विद्यार्थी भाइबहिनीहरू पुरस्कृत भएका छन् । खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन, टोलीभावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुगेको विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक इन्द्रजित थारुज्यूले अतिरिक्त क्रियाकलाप तथा खेलकुदले विद्यार्थीहरूमा उत्साह, जोस, जाँगर र आत्मबल वृद्धि गर्ने बताउनुभयो । उहाँले शैक्षिक गतिविधिसँगै खेलकुदलाई समान महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप इन्चार्ज निर्मला खनालज्यूले गर्नुभएको थियो । सो अवसरमा विद्यालय इन्चार्ज जमुना गौतमज्यूले उत्कृष्ट विद्यार्थीहरूलाई टीका लगाई सम्मान गर्दै पुरस्कृत विद्यार्थीहरूलाई आगामी वार्षिक उत्सवमा विशेष पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो । खेलकुद सप्ताहले विद्यालयमा सकारात्मक ऊर्जा थपेको र विद्यार्थीहरूमा आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा टेवा पुगेको सहभागीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्