निर्वाचन आयोगद्वारा लुम्बिनीका निर्वाचन क्षेत्रमा फरक–फरक खर्च सीमा निर्धारण


पालिका पत्र

१९ माघ २०८२, आईतवार ०९:४७ मा प्रकाशित

कपिलवस्तु, १८ माघ ।
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाका २६ सिटका लागि करिब ६ सय उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू मतदाता प्रभावित पार्न घरदैलो, सभा–सम्मेलन तथा विभिन्न प्रचार–प्रसार गतिविधिमा व्यस्त रहेका छन्।

निर्वाचनलाई स्वच्छ, मर्यादित र समान प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ। आयोगले तोकेको खर्च सीमा नाघेर कुनै पनि उम्मेदवारले खर्च गर्न नपाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशका निर्वाचन क्षेत्रअनुसार उम्मेदवारहरूले न्युनतम २७ लाख रुपैयाँदेखि अधिकतम ३३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्। खर्च सीमाका आधारमा हेर्दा ३३ लाख रुपैयाँ खर्च सीमा तोकिएका निर्वाचन क्षेत्र ६ वटा रहेका छन्। यस्तै २९ लाख खर्च सीमा भएका क्षेत्र ११ वटा र ३१ लाख खर्च सीमा भएका क्षेत्र ८ वटा रहेका छन्।

सबैभन्दा कम खर्च सीमा रुकुम पूर्वका निर्वाचन क्षेत्रमा तोकिएको छ, जहाँ उम्मेदवारहरूले २७ लाख रुपैयाँभन्दा बढी खर्च गर्न पाउने छैनन्। सबैभन्दा बढी ३३ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा बर्दियाका दुई निर्वाचन क्षेत्र, दाङ १, प्युठान, रोल्पा र अर्घाखाँची रहेका छन्।

यस्तै रुपन्देही १ र ५, कपिलवस्तु १ र २, बाँके १, दाङ २ र ३ तथा गुल्मी १ का उम्मेदवारहरूले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी पश्चिम १ र २, गुल्मी २ तथा पाल्पा १ र २ का उम्मेदवारहरूका लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकिएको छ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, मतदाता संख्या तथा पहुँचका आधारमा खर्च सीमा फरक–फरक तोकिएको जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र उम्मेदवारहरूले निर्वाचन खर्च गर्नुपर्नेछ। खर्च सीमा नाघेमा प्रचलित कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्