कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी गाउँपालिका–१ चाकरचौडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले एक समारोहबीच उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले देश जलाउने र सत्ता छाडेर भाग्ने परिस्थितिको सिर्जना गर्नेहरूबाट मुलुकले निकास नपाउने टिप्पणी गर्नुभयो। उहाँले मुलुक अहिले असामान्य अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो परिस्थितिमा राप्रपाले मात्र देशलाई सही दिशामा निकास दिन सक्ने दाबी गर्नुभयो।
देशको विद्यमान राजनीतिक अवस्थाबाट जनता आजित भइसकेको बताउँदै उहाँले अबको विकल्प राप्रपा नै भएको स्पष्ट पार्नुभयो। परम्परा, राष्ट्रवाद र सुशासनको एजेन्डा बोकेको पार्टीलाई बलियो बनाएर संसदमा पठाउन उहाँले मतदातासमक्ष आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार शत्रुधन विलास कुर्मीले जनताको पीडा बुझ्ने र समाधान गर्ने जिम्मेवारी राप्रपाले लिने बताउनुभयो। “क्षेत्र नम्बर १ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकास मेरो प्रमुख प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो।
त्यसैगरी पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले संगठन सुदृढ गर्दै घर–घरमा राप्रपाको एजेन्डा पुर्याउने अभियान तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले पार्टीप्रति देखिएको जनसमर्थन उत्साहजनक रहेको उल्लेख गर्दै सबै कार्यकर्तालाई एकताबद्ध भएर चुनावी मैदानमा होमिन आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा भोजराज आचार्य, चन्द्र भण्डारी, रमाकान्त कुर्मी, भीम शाही, देवेन्द्र किरण श्रीवास्तव, अमेरिका कुर्मी, इन्तियाज अहमद लगायतले समेत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन भूमिराज गिरीले गर्नुभएको थियो।

