जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियान तीव्र पार्दै विश्राम चौधरी


पालिका पत्र

२१ माघ २०८२, मंगलवार १९:४८ मा प्रकाशित

वाणगंगा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) का तर्फबाट उम्मेदवार विश्राम प्रसाद चौधरीले मतदाताहरूले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नम्बर १ तथा कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको हो। भेटघाटका क्रममा उहाँले स्थानीयवासीका समस्या, आवश्यकता र विकाससम्बन्धी सुझावहरू संकलन गर्नुका साथै आगामी निर्वाचनमा सहयोग र समर्थनको आग्रह गर्नुभयो।

नेकपा (एमाले) का जनप्रिय नेता तथा संविधानसभा सदस्यसमेत रहनु भएका चौधरीले स्थानीय समुदायसँग प्रत्यक्ष सरसल्लाह गर्दै जनआशीर्वाद ग्रहणसहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लैजानुभएको छ। उहाँले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास र सहभागिताबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने बताउनुभयो।

संयुक्त रूपमा सम्पन्न भेटघाट तथा संवाद कार्यक्रमले स्थानीय विकास, जनस्वास्थ्य, शिक्षा, पूर्वाधार र समग्र समृद्धिका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूले बताएका छन्। भेटघाटका क्रममा नागरिकहरूले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी तथा कृषिसम्बन्धी समस्या र आवश्यकताहरू खुला रूपमा राखेका थिए।

उम्मेदवार चौधरीले ती सबै विषयहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै योजनाबद्ध र चरणबद्ध रूपमा समाधान गरिने स्पष्ट पार्नुभएको छ। जनतासँग प्रत्यक्ष संवाद र सहभागितालाई केन्द्रमा राखेर अघि बढाइएको यस अभियानले आगामी निर्वाचनमा नेकपा (एमाले) प्रति जनविश्वास अझ सुदृढ हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्