कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले विदेशमा रहेका यस क्षेत्रका मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने आह्वान गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत शर्माले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण देशबाहिर रहेका मतदाताको आवाज, सुझाव र अनुभव आफ्नो चुनावी अभियानका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका हुन् ।
देशबाहिर रहे पनि मतदाताको भावना, समस्या र अपेक्षालाई नजिकबाट बुझ्ने उद्देश्यले आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिए । सो कार्यक्रममा सक्रिय सहभागिता जनाउन विदेशमा रहेका कपिलवस्तु–१ का मतदातालाई उनले आग्रह गरेका छन् ।
भिडियो सन्देशमा शर्माले भने, “कपिलवस्तुको भविष्य निर्माणमा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण छ ।”
उनले विकास, सुशासन र अवसर सृजनाका विषयमा साझा धारणा संकलन गरिने विश्वास व्यक्त गर्दै अन्तरक्रियाबाट प्राप्त सुझाव तथा मतहरू आगामी कार्ययोजना र चुनावी प्रतिबद्धतामा समेटिने स्पष्ट पारे ।
स्वतन्त्र उम्मेदवार शर्माले समावेशी, पारदर्शी र नागरिक–केन्द्रित राजनीति आफ्नो मुख्य एजेन्डा रहेको पनि दोहोर्याएका छन् ।

