कपिलवस्तु । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तुमा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। मतदाता भेटघाट, घरदैलो अभियान तथा संगठन विस्तारलाई प्राथमिकता दिँदै पार्टीले चुनावी माहोललाई थप सशक्त बनाउँदै लगेको छ।
यसै क्रममा सोमबार एकैदिन सुद्धोधन गाउँपालिकाको लवनी र मायादेवी गाउँपालिकाको पकडीमा राप्रपाका सम्पर्क कार्यालयहरू उद्घाटन गरिएको छ। एक विशेष समारोहका बीच पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले दुवै सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले राप्रपा राष्ट्रियता, धर्म, संस्कृति तथा सुशासनको संरक्षणका स्पष्ट एजेण्डासहित जनतामाझ गएको बताउनुभयो। वर्तमान अवस्थामा जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै उहाँले राप्रपा भरोसायोग्य विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गर्नुभयो।
उहाँले मुलुकको समस्या केवल निर्वाचनबाट मात्र समाधान नहुने जिकिर गर्दै राजा, सरकार र जनताबीच आपसी समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, चुनाव नजिकिँदा मात्र क्षेत्र प्रवेश गर्ने ‘टुरिस्ट उम्मेदवार’ भन्दा स्थानीय जनताको दुःख–सुख बुझ्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शत्रुधन विलास सिंह कर्मीले सम्पर्क कार्यालयहरू पार्टीको नीति, सिद्धान्त र चुनावी प्रतिबद्धता जनतासम्म पुर्याउने महत्वपूर्ण माध्यम हुने बताउनुभयो। स्थानीय विकास, रोजगारी सिर्जना, कृषि तथा शिक्षा क्षेत्रको सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ छ। लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले सबै मतदातालाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, संगठन विभाग प्रमुख राजेन्द्र विक्रम शाहलगायत अन्य नेता तथा कार्यकर्ताहरूले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको जनाउँदै घरदैलो अभियानलाई अझ व्यापक बनाइने बताएका थिए। उनीहरूले सम्पर्क कार्यालयहरूलाई संगठन सुदृढीकरण र मतदाता समन्वयको केन्द्रका रूपमा प्रयोग गरिने स्पष्ट पारे।
राप्रपाले आगामी दिनहरूमा कपिलवस्तुका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

