शुद्धोधनमा पशु स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति, किसानको विश्वास बढ्दै


पालिका पत्र

२१ माघ २०८२, मंगलवार २१:४८ मा प्रकाशित

कपिलवस्तु । शुद्धोधन गाउँपालिका, कपिलवस्तुको पशु सेवा शाखाले आर्थिक वर्ष २०८१/०८२ मा पशु उपचार, खोप, रोग नियन्त्रण तथा सेवाग्राही किसानको पहुँच विस्तारमा उत्साहजनक प्रगति हासिल गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति समीक्षा प्रतिवेदनले पशु स्वास्थ्य सेवाप्रति किसानको विश्वास बढ्दै गएको देखाएको छ।

पशु सेवा शाखा प्रमुख मणि प्रसाद गैह्रेका अनुसार चालु आर्थिक वर्षमा २ हजार ६५४ पशुको मेडिकल उपचार, ३७८ वटा सर्जिकल उपचार तथा २७१ वटा गाइनोकोलोजिकल उपचार सम्पन्न गरिएको छ। यसैगरी ४४७ वटा बन्ध्याकरण सेवा, ४८४ गोबर परीक्षण र १८ वटा दूध परीक्षण गरिएको शाखाले जनाएको छ।

परजीवी नियन्त्रणतर्फ पनि उल्लेखनीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ। १८ हजार ४२० पशुमा आन्तरिक परजीवी उपचार र २ हजार ३९४ पशुमा बाह्य परजीवी उपचार गरिएको छ। यस्तै, २ हजार १२४ पंक्षी उपचार सेवा प्रदान गरिएको छ भने ७५ जना किसानले माछा उपचार सेवा लिएका छन्।

महामारीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रमलाई प्राथमिकता दिइएको शाखाले जनाएको छ। यस अवधिमा ११ हजार ६९० पशुमा पी.पी.आर. खोप, ४ हजार ३४७ पशुमा खोरेत खोप तथा ३ हजार ४४१ पशुमा भ्यागुते र चरचरे खोप लगाइएको छ। यसका अतिरिक्त लम्पी स्किनसहित आकस्मिक रोग नियन्त्रणका लागि ५०० पशुमा उपचार तथा खोप सेवा प्रदान गरिएको छ।

पशु आहार सुधार कार्यक्रमअन्तर्गत १ हजार १२६ केजी वर्षे घाँसको बीउ र २ हजार ५०० केजी सुडान घाँसको बीउ खरिद तथा वितरण गरिएको छ। यसका लागि झण्डै ८ लाख रुपैयाँ बराबरको औषधि तथा १ लाख रुपैयाँ बराबरको कृत्रिम गर्भाधान सामग्री खरिद गरिएको शाखाले जनाएको छ।

छाडा चौपाय व्यवस्थापनअन्तर्गत ८९ वटा पशु व्यवस्थापन गरिएको छ। यस्तै, गत वर्ष १ वटा पशुपालन फर्म दर्ता र ३ वटा फर्म नवीकरण भई १६ हजार ३८० रुपैयाँ राजस्व संकलन भएको छ। समग्रमा शाखाले करिब १५ लाख रुपैयाँ बराबरको सेवा तथा व्यवस्थापन कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।

नियमित उपचार सेवा, निशुल्क कृत्रिम गर्भाधान, खोप कार्यक्रम, छाडा चौपाय व्यवस्थापन तथा पशु बीमामा किसानको सहभागिता वृद्धि शाखाको प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ। साथै, पशुको घरदैलोमै बाझोपन उपचार सेवा उपलब्ध गराइएको जनाइएको छ।

यद्यपि, पर्याप्त कार्यालय कक्ष तथा औषधि भण्डारण कोठाको अभाव र किसानबाट अत्यधिक टोनिकको माग प्रमुख चुनौतीका रूपमा शाखाले औंल्याएको छ।

समग्रमा पशु सेवा शाखाले सेवा विस्तार, रोग नियन्त्रण र किसानमैत्री कार्यक्रममार्फत पशुपालन क्षेत्रलाई सबल बनाउँदै गएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रतिक्रिया दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्