वाणगंगा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै गएको छ । यसै क्रममा नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु–१ का उम्मेदवार अतहर कमाल मुसलमान सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त देखिएका छन् ।
मुसलमानले क्षेत्रका विभिन्न स्थानमा सम्पर्क कार्यालय उद्घाटन गर्दै मतदातासँग प्रत्यक्ष संवाद, भेटघाट र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदाताको विश्वास जित्ने प्रयासमा जुटेका छन् ।
कपिलवस्तु–१ मा नेकपा एमालेका विश्राम प्रसाद थारु, नेपाली कांग्रेसका अतहर कमाल मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य, नेकपाका कृष्ण बहादुर कुँबर तथा स्वतन्त्र उम्मेदवार आशिष शर्मा बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यी उम्मेदवारहरूको चुनावी शैली, रणनीति र अभियान आ–आफ्नै किसिमको रहेको छ ।
सम्पर्क कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रमबारे जानकारी नेपाल विद्यार्थी संघ कपिलवस्तुका जिल्ला सभापति चन्द्रकान्त पोखरेलले दिएका हुन् । उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन, भातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रियतामा मतदाता केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

