धाँधलिरहित चुनाव भए नेकपा पहिलो शक्ति बन्छ : प्रचण्ड


पालिका पत्र

२२ माघ २०८२, बुधबार १८:०६ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो नम्बरको दल बन्ने सम्भावना रहेको दाबी गरेका छन्।

बुधबार काठमाडौँको स्वयम्भूमा आयोजित मुस्ताङ–काठमाडौँ सम्पर्क मञ्चको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन भए नेकपा नै देशको पहिलो दल बन्ने बताए।
‘स्वच्छ र निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने पूर्ण सम्भावना छ,’ उनले भने।

प्रचण्डले सामाजिक सञ्जालमा हुने चर्चाले मात्र निर्वाचनमा मत नआउने स्पष्ट पार्दै नयाँ दलहरूप्रति संकेत गरे। ‘सोसल मिडियामा हाहा–हुहु गरेर केही हुनेवाला छैन,’ उनले टिप्पणी गरे।

उनले हाल जनताको समर्थन नेकपाको पक्षमा रहेको जिकिर गर्दै देशलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिन सक्ने र सुशासन तथा आर्थिक विकासको मार्गमा अगाडि बढाउन सक्ने नेतृत्व नेकपासँग रहेको दाबी गरे।

‘राष्ट्रलाई एकतामा बाँध्ने, सामाजिक न्याय र सुशासन कायम गर्ने तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्न सक्ने पार्टी र नेतृत्व को हो भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन्,’ प्रचण्डले भने, ‘त्यसकारण सही किसिमले निर्वाचन भयो भने यो पटक हामी सही पोजिसनमा आउँछौँ।’

प्रतिक्रिया दिनुहोस्