कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, ईमलियामा गाय छाप क्रिकेट क्लबद्वारा आयोजना गरिएको ईमलिया प्रिमियम लिग सिजन–२ को समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अतहर कमाल मुसलमान प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान विशिष्ट आतिथ्यता नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बिमला गैरे, युवा नेता जमशेद खाँ, नेबि संघ कपिलवस्तुका जिल्ला सभापति चन्द्रकान्त पोख्रेल लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक व्यक्तित्व, खेलप्रेमी युवाहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अतहर कमाल मुसलमानले खेलकुदले युवालाई कुलत, हिंसा र नकारात्मक सोचबाट जोगाउँदै अनुशासन, नेतृत्व र एकताको बाटोमा अघि बढाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले भने, “युवालाई सही दिशामा डोर्याउने सबैभन्दा बलियो हतियार खेलकुद हो। ईमलिया प्रिमियम लिगजस्ता प्रतियोगिताले गाउँस्तरमै प्रतिभा चिन्ने अवसर दिएको छ, जुन समाज र राष्ट्र निर्माणका लागि अत्यन्तै आवश्यक छ।”
उनले ग्रामीण क्षेत्रमा खेलकुद पूर्वाधारको विकास र नियमित प्रतियोगिताको आयोजना आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक गतिविधिलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदले जात, धर्म र राजनीतिक भिन्नताभन्दा माथि उठेर समाजलाई एकताबद्ध बनाउने शक्तिशाली माध्यम भएको पनि उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले स्थानीय तह खेलकुद विकासमा प्रतिबद्ध रहेको बताउँदै युवाहरूको क्षमता उजागर गर्न यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जानकारी दिए। अन्य वक्ताहरूले पनि ईमलिया प्रिमियम लिगले स्थानीय युवामा खेलप्रति उत्साह बढाएको र सामाजिक सद्भाव मजबुत बनाएको धारणा राखे।
समापन समारोहमा उत्कृष्ट टिम तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो। दर्शकहरूको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न प्रतियोगिताले ईमलियालाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुगेको आयोजक गाय छाप क्रिकेट क्लबले जनाएको छ।

