कपिलवस्तु । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँची घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आएका अग्रज व्यक्तिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु क्षेत्र नं.–१ का प्रतिनिधि सभा उम्मेदवार अतहर कमाल मुसलमान र अर्घाखाँचीका प्रतिनिधि सभा उम्मेदवार आदरणीय दाजु विष्णु खनाल ‘मुस्कान’ज्यूको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
श्रीपेच होटलमा सम्पन्न कार्यक्रममा अर्घाखाँची–कपिलवस्तु सम्बन्ध, विकासका साझा सम्भावना, जनचासोका विषय तथा निर्वाचनपछिको समन्वयात्मक भूमिकाबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागी अग्रजहरूले अनुभव र सुझाव प्रस्तुत गर्दै राजनीतिक स्थिरता, सुशासन र समावेशी विकासका लागि दुवै उम्मेदवारको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए।
उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तु क्षेत्र नं.–१ का जनताको भरोसा र अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै अग्रजहरूको सुझावलाई आफ्नो चुनावी एजेण्डामा समेटिने प्रतिबद्धता जनाए। त्यस्तै उम्मेदवार विष्णु खनाल ‘मुस्कान’ज्यूले अर्घाखाँची र कपिलवस्तुबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै साझा विकासका काममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

