जितपुर । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ को वडा कार्यालयमा जडान गरिएका दुई वटा विद्युत मिटरमध्ये एकमा प्राविधिक कारणले बढी रकम जम्मा हुँदा अर्को मिटरको खातामा मौज्दात नहुँदा समयमै विद्युत महसुल भुक्तानी हुन नसकेको पाइएको छ ।
ग्राहक नं. ४३१३६ र ५७७४९ रहेका ती दुई मिटरमध्ये एक मिटरको खातामा बढी रकम जम्मा भएको र अर्को मिटरमा खपत भएको विद्युतको महसुल भुक्तानी हुन नसक्दा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवाले बिना पूर्वजानकारी एक मिटरको लाइन काटिदिएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रामक प्रचार र आरोपहरू फैलिएका छन् ।
घटना सार्वजनिक भए लगत्तै वाणगंगा नगरपालिका लेखा शाखामार्फत सम्बन्धित निकायसँग आवश्यक पत्राचार गरी एक मिटरको खातामा रहेको मौज्दात रकम अर्को मिटरको खातामा ट्रान्सफर गर्ने प्रक्रिया अगाडि बढाइसकिएको नगरपालिकाले जनाएको छ । शुक्रबार कार्यालय समय अपराह्न ३ बजे समाप्त भएकाले आइतबार कार्यालय खुल्ने बित्तिकै पहिलो घन्टामै समस्या समाधान हुने स्पष्ट पारिएको छ ।
नगरपालिकाले वाणगंगाको सम्पूर्ण आर्थिक कारोबार लेखा शाखामार्फत मात्रै हुने, सबै भुक्तानी बैंकिङ प्रणालीबाट हुने र कुनै पनि जनप्रतिनिधि वा कर्मचारीले नगद कारोबार गर्ने व्यवस्था नरहेको प्रष्ट पारेको छ ।
यसैबीच केही व्यक्तिहरूले “जनप्रतिनिधिले विद्युतको पैसा खाए” वा “गोजामा हाले” जस्ता आधारहीन र भ्रामक अभिव्यक्ति सामाजिक सञ्जालमा फैलाउनु नियोजित प्रहार भएको नगरपालिकाको भनाइ छ । यस्ता अभिव्यक्तिहरू तथ्यविहीन, गैरजिम्मेवार र आम सेवाग्राहीलाई भ्रममा पार्ने किसिमका रहेको भन्दै वडा कार्यालयले कडा आपत्ति जनाएको छ ।
वडा अध्यक्ष बाबुराम अर्यालले वडा बासी तथा सेवाग्राहीलाई भ्रामक समाचार र सामाजिक सञ्जालमा फैलाइने गलत प्रचारमा नपर्न आग्रह गर्दै यस्ता विषयमा प्रतिक्रिया जनाउँदा तथ्य बुझेर सकारात्मक रूपमा लिन अनुरोध गरेका छन् ।

