कांग्रेस बाणगंगाको प्रचार–प्रसार कार्यालय उद्घाटन


पालिका पत्र

२४ माघ २०८२, शुक्रबार १९:५८ मा प्रकाशित

जितपुर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले बाणगंगा नगरपालिकाका कुनै पनि वडामा कांग्रेस कमजोर नरहेको दाबी गरेका छन्।

बिहीबार बाणगंगा नगरपालिका–४ मा स्थापना गरिएको नेपाली कांग्रेसको चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार मुसलमानले कांग्रेसको संगठन बाणगंगाका सबै वडामा सुदृढ रहेको उल्लेख गरे। उनले कार्यकर्तालाई आत्मविश्वास कमजोर नबनाउन आग्रह गर्दै चुनावी अभियानमा अझ सक्रिय भएर लाग्न निर्देशन दिए।

संविधानसभा सदस्यसमेत रहेका मुसलमानले आफूले विगतमा जनताको हितविपरीत कुनै कार्य नगरेको दाबी गर्दै सधैं जनताको पक्षमा उभिँदै आएको बताए। साथै पार्टी सभापति गगन थापाको नेतृत्वपछि कांग्रेसप्रतिको जनआकर्षण उल्लेखनीय रूपमा बढेको उनको भनाइ थियो।

उम्मेदवार मुसलमानले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १० देखि १५ हजार मतको अन्तरले जित हासिल गर्ने दाबीसमेत गरे।

कार्यक्रममा कांग्रेसकी समानुपातिक उम्मेदवार बिमला गैरेले देशभर कांग्रेसको चुनावी माहोल थप बलियो बन्दै गएको उल्लेख गर्दै कार्यकर्तालाई ढुक्कका साथ चुनावी अभियानमा जुट्न आग्रह गरिन्।

चुनावी सम्पर्क कार्यालयको उद्घाटन बाणगंगा नगरपालिकाका संस्थापक मेयर मंगल प्रसाद थारु र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सेनले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रम कांग्रेस बाणगंगा नगर सभापति विष्णु थापाको अध्यक्षतामा तथा नगर सचिव गोविन्द प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्