सुशासन र जवाफदेही नेतृत्वका एजेन्डासहित मैदानमा आचार्य


पालिका पत्र

२४ माघ २०८२, शुक्रबार २०:११ मा प्रकाशित

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फका उम्मेदवार मोहनलाल आचार्यले ‘जनतासँग उम्मेदवार’ कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन्।

घरदैलो अभियानमार्फत प्रत्यक्ष रूपमा मतदातासँग संवाद गर्दै सुझाव संकलन गरिएको जानकारी दिँदै उम्मेदवार आचार्यले परिवर्तन भाषणमा मात्र होइन, व्यवहारमा देखिनुपर्ने मान्यताका साथ आफू राजनीतिमा आएको उल्लेख गरे। उनले आजको आवश्यकता हरेक नागरिकको सक्रिय सहभागितामार्फत समावेशी र उत्तरदायी राजनीति निर्माण गर्नु रहेको बताए।

भ्रष्टाचार, कुशासन र कुरीतिरहित पारदर्शी, न्यायपूर्ण तथा समृद्ध नेपाल निर्माण सबैको साझा सपना बन्नुपर्नेमा जोड दिँदै आचार्यले उक्त लक्ष्य हासिल गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने अपिल गर्दै आएका छन्। घरदैलोका क्रममा “अबको भोट घण्टीलाई” भन्ने नारासहित मतदाता उत्साहित भएको जनाइएको छ।

संवादका क्रममा मतदाताहरूले परिवर्तनप्रतिको आशा व्यक्त गर्दै रास्वपाप्रति सकारात्मक धारणा राखेको उम्मेदवार आचार्यको दाबी छ।

पेशाले संविधान विज्ञ तथा अधिवक्ता रहेका आचार्य सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा लामो समयदेखि सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन्।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका उनी कानुनी क्षेत्रसँगै सामाजिक तथा नागरिक अभियानहरूमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्। रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” लाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्