प्राचीन कपिलवस्तुको तिलौराकोट नजिकै रहेका राजा सुद्धोधन र रानी मायादेवीको स्मृतिमा निर्मित ऐतिहासिक ‘जोडी स्तुप’ अहिले संरक्षणको पर्खाइमा छ।
सम्बन्धित निकायको बेवास्ताका कारण यो पुरातात्विक महत्वको क्षेत्र अहिले बालबालिकाको खेलमैदान र पशु चौपायाको चरन क्षेत्रमा परिणत भएको छ।
बुद्धको क्रीडास्थल मानिने तिलौराकोट दरबार क्षेत्रबाट करिब ४ सय मिटर उत्तरमा अवस्थित यो सम्पदा अलपत्र पर्दा स्थानीय बालबालिकाहरुले स्तुपमै खेल्ने र कुद्ने गरेका छन्।
यति मात्र होइन, संरक्षण र घेराबारको अभावमा यो ऐतिहासिक स्थल गाईभैंसी र बाख्रा चराउने खुला चरन क्षेत्र बनेको छ।
कपिलवस्तु-६ स्थित यो स्तुपमा बालबालिकाहरु चढ्ने र त्यहाँ रहेका प्राचीन इँटाहरु फुटाउने गरेको स्थानीय अनिल क्षेत्रीले बताए।
‘रेखदेखका लागि कोही नहुँदा बालबालिकाले स्तुपमाथि खेल्ने र ऐतिहासिक इँटाहरु समेत फुटाउने गरेका छन्,’ क्षेत्रीले भने, ‘यसबारे सरोकारवालालाई जानकारी गराउँदा समेत कसैले चासो देखाएका छैनन्।’
वर्षौंदेखि बेवारिसे बन्दा र समयमै संरक्षण नगरिँदा स्तुपको अस्तित्व नै खतरामा परेको उनको भनाइ छ।
पुरातत्व विभागले सन् १९६७ र १९६८ मा यस क्षेत्रमा उत्खनन् गरेको थियो। पुरातत्वविद् बीके रिजालका अनुसार यहाँ रहेका दुई स्तुपमध्ये ठूलो स्तुप राजा सुद्धोधन र सानो स्तुप रानी मायादेवीको स्मृतिमा निर्माण गरिएको हो।
ठूलो स्तुपको ब्यास ५२ फिट र उचाइ साढे ७ फिट रहेको छ भने सानो स्तुपको ब्यास २६ फिट छ।
विज्ञहरूका अनुसार सानो स्तुप ईसापूर्व पहिलो र दोस्रो शताब्दी तथा ठूलो स्तुप ईसापूर्व चौथो शताब्दीमा निर्माण गरिएको हो।
करिब ८ बिघा क्षेत्रफलमा फैलिएको यो स्तुप क्षेत्रमा वर्षौं पहिले लगाइएको तारबारको अहिले नामोनिसान छैन। तिलौराकोट परिसरलाई तारबार गरेर घेरेपछि यो स्थान आगन्तुकका लागि अझ टाढा भएको छ।
४ सय मिटरको दूरीमा भए पनि हाल करिब १३ सय मिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले जोडी स्तुपको तारबार र संरक्षण नहुँदा अवस्था नाजुक भएको स्वीकार गरे।
उनले स्तुपको संरक्षणका लागि कोषले पहल गरिरहेको जानकारी दिए। ‘भियतनामका एक भिक्षुले जोडी स्तुपको तारबार र संरक्षणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ,’ उप्रेतीले भने, ‘त्यसका लागि आवश्यक कागजात र तस्बिरहरू पठाइसकिएको छ, कोषले संरक्षणको तयारी थालेको छ।’

