घण्टीको उम्मेदवार बनेपछि संसद भवन जलाइएको फोटो भाइरल


पालिका पत्र

२६ माघ २०८२, आईतवार १५:३५ मा प्रकाशित

गत भदौ २४ गतेको जेन जी विध्वंशमा संसद भवनमा आगो लगाउने कार्यमा संलग्न प्रकाश रजौरियालाई रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले उम्मेदवार बनाएको छ । रजौरिया कपिलवस्तु क्षेत्र नम्बर ३ बाट घण्टी चिन्ह लिएर प्रतिनिधि सभा उम्मेदवार बनेका हुन् ।

भदौ २४ गते संसद भवन जलाएपछि “हाम्रो मिशन पूरा भयो” भन्ने भिडियो प्रकाश रजौरियाले आफ्नै फेसबुकमा पोष्ट गरेका थिए। प्रहरीले अनुसन्धान थालेपछि डराउँदै उनले उक्त भिडियो डिलिट गरेका थिए। रजौरियाले यसअघि राप्रपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने क्रममा १४ हजार मत प्राप्त गरेका थिए।

टिकटका लागि चार दिनमा चार पार्टी

जमिनदार र राजनीतिक पृष्ठभूमि भएका रजौरिया कांग्रेसबाट टिकट पाउन इच्छुक थिए। तर कांग्रेसमा पूराना उम्मेदवारलाई प्राथमिकता दिइएपछि उनी एमालेतर्फ गए। संसद भवन जलाउने घटनामा संलग्न भएको भिडियोका कारण एमालेले टिकट दिन अस्वीकार गरेको बताइन्छ । नेकपाबाट पनि टिकट पाउने प्रयास असफल भएपछि रास्वपाले अन्ततः समानुपातिक सिफारिस भएका मिर्जा राशिदमार्फत उनलाई टिकट उपलब्ध गराएको थियो।

सहकारी ठगसँगको संलग्नता

रजौरियाको सम्बन्ध सुमेरु सहकारी मार्फत गरिब–विपन्नको करिब १० अर्ब रुपैयाँ अपचलन गरी बेलायत भागेका सहकारी ठग भरत महर्जनसँग रहेको देखिन्छ। विगत १४ वर्षदेखि काठमाडौंमै बसेर पारामेडिक्स व्यवसाय गर्दै आएका उनले सुमेरु अस्पतालको व्यवस्थापन महर्जनको विश्वासमा सम्हाल्दै आएका थिए।

राप्रपा जिल्ला नेताहरूका अनुसार, २०७९ को प्रतिनिधि सभा निर्वाचनमा महर्जनले करिब २ करोड रुपैयाँ आर्थिक सहयोग गरेर रजौरियालाई चुनाव लडाएका थिए । महर्जन सहकारको रकम अपचलनमा मुछिएपछि रजौरिया अस्पतालको जिम्मेवारीबाट पछि हटेको सुमेरुका कर्मचारी बताउँछन्।

सहसचिवको सक्रिय प्रचार

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेश रजौरिया आफ्ना भाई प्रकाश रजौरियालाई जिताउन मैदानमा सक्रिय छन्। निजी गाडीमा क्षेत्र नम्बर ३ का घरदैलो र भेटघाट गर्दै उनले जनतालाई डिपबोरिङ्ग र सिँचाइ कुलो निर्माण गर्ने आश्वासन दिएको सुनिन्छ । सहसचिव रजौरियाले मन्त्रालय र सिँचाइ विभागको जिम्मेवारीको आडमा यसअघि डेढ दर्जन डिपबोरिङ्गको प्रक्रिया आफूले अघि बढाएको दाबी गर्दै आएका छन् । समाचार साभार जनआस्था

प्रतिक्रिया दिनुहोस्