कपिलवस्तुको क्षेत्र नं. १ कांग्रेसभित्र असन्तुष्टि चुलियो, क्षेत्रीय नेतृत्व आक्रोशित


पालिका पत्र

२७ माघ २०८२, सोमबार १९:०९ मा प्रकाशित

कपिलवस्तु, २६ माघ । नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. १ का क्षेत्रीय सभापति, प्रदेश सभापति र पालिका सभापतिहरुले स्वतन्त्र उम्मेद्वार आशिष शर्मालाई जिताउन लाग्ने भएका छन् । बाणगंगा–१ मा बसेको नेता तथा कार्यकर्ताहरुको बैठकले स्वतन्त्र उम्मेद्वार चुनाव चिन्ह जीप रहेका शर्मालाई सहयोग गर्ने निर्णय गरेको एक कांग्रेस नेताले जानकारी दिए ।

बैठकले कपिलवस्तु क्षेत्र नं. १ का कांग्रेस क्षेत्रीय सभापति स्वयम् अब्दुल मन्नान खाँ, क्षेत्र नं. १ प्रदेश (क) सभापति दुर्गा केसी, कांगेस मायादेवी गाउँपालिका सभापति शैलेन्द्र प्रसाद दुवे, नेपाली कांग्रेस सुद्धोधन गाउँपालिका सभापति विशम्भर प्रसाद कुर्मी, महाधिवेशन प्रतिनिधिहरु लगायत नेता तथा कार्यकर्ताहरुको बैठकले यस्तो निर्णय गरेको क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले जानकारी दिए ।

यस अघि नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको थियो ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्बदुल मन्नान खाँको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्था, परिस्थिति र स्थानीय जनभावनालाई ध्यानमा राखी ३ जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको तर, क्षेत्रीय कार्यसमिति र प्रतिनिधिहरूको सिफारिस तथा निर्धारित प्रक्रिया बाहिर गएर केन्द्रबाट टिकट वितरण गरिएको भन्दै क्षेत्रीय कार्यसमितिको बैठकले असहमति जनाएको क्षेत्रीय सचिव कृष्ण चौधरीले जानकारी दिए ।

प्रक्रिया र सिफारिसलाई बेवास्ता गरी गरिएको टिकट वितरणले क्षेत्रका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि, निराशा र विभाजनप्रति बैठकले चिन्ता व्यक्त गरेको क्षेत्रीय समितिले जनाएको छ । नेपाली कांग्रेस केन्द्रले कपिलवस्तु क्षेत्र नं। १ मा पूर्व सांसद अतहर कमाल मुसलमानलाई टिकट दिएसँगै क्षेत्रमा कांग्रेस नेता तथा कार्यकर्ताहरुबीच धु्रबीकरण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्