कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता डोलकराम घिमिरेले पार्टीको महाधिवेशन प्रतिनिधि पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट गत निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका घिमिरेले वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको निर्णय प्रक्रिया र स्थानीय जनभावनाको निरन्तर बेवास्ताका कारण पदबाट अलग हुने निर्णय लिएको बताएका छन्।
घिमिरेका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ ले स्थानीय अवस्था, जनअपेक्षा र पार्टीभित्रका छलफलका आधारमा तीन जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको थियो । तर क्षेत्रीय कार्यसमिति, प्रतिनिधि तथा पार्टीको निर्धारित प्रक्रिया विपरीत केन्द्रबाट टिकट वितरण गरिएको भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण आफू महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा बसिरहनु औचित्यहीन ठानी राजीनामा दिएको उनले स्पष्ट पारे ।
राजीनामासँगै घिमिरेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्। ‘हाम्रो पाइला अनलाइन’सँग कुरा गर्दै उनले आशिष शर्मालाई जिताउन आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई खुला आह्वानसमेत गरेका छन् । “यो समर्थन कुनै आवेगमा गरिएको निर्णय होइन, यस क्षेत्रको भविष्य र सक्षम नेतृत्वको खोजीका आधारमा लिएको निर्णय हो,” घिमिरेले भने।
यसैबीच, कपिलवस्तु क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि बिरेन्द्र श्रेष्ठले पनि आफ्नो पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् । श्रेष्ठले वर्तमान अवस्थामा युवा शक्ति, नयाँ सोच र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै शर्मालाई समर्थन गर्नु समयको माग भएको बताएका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका डोलकराम घिमिरे क्षेत्र नम्बर १ का शालीन, भद्र र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिँदै आएका छन् । पार्टी संगठनदेखि निर्वाचनसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै आएका घिमिरेले एकाएक युवा नेताको पक्षमा खुलेर समर्थन जनाउनुले जिल्लाको राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ ।
घिमिरेले हालको अवस्थामा कपिलवस्तु क्षेत्र नम्बर १ मा आशिष शर्मा जत्तिको सक्षम, दूरदर्शी र परिणाम दिन सक्ने उम्मेदवार अन्य कोही नभएको दाबी गर्दै “अबको नेतृत्व युवालाई सुम्पिनु बाहेक अर्को विकल्प छैन” भनेका छन् ।
भोलि वाणगंगा नगरपालिका वडा नं. १ बैरियाबाट सुरु हुने आशिष शर्माको घरदैलो अभियानमा आफू स्वयं सहभागी हुने घोषणा गर्दै घिमिरेले शर्मालाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। अनुभवी राजनीतिक व्यक्तित्वहरूको समर्थनसँगै युवा नेता आशिष शर्माको उम्मेदवारी थप बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

