कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका शत्रुधन विलास कुर्मीले आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवार विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्।
कुर्मीले देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन आम मतदाताले राप्रपालाई विजयी गराउनुपर्ने जिकिर गरेका छन्। वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले मतदाताले जिम्मेवार र सचेत निर्णय लिनुपर्ने आवश्यकता औंल्याए।
उनले राप्रपा कुनै किसिमको धम्की दिने पक्षमा नरहेको स्पष्ट पार्दै देशलाई बचाउन निर्वाचनमार्फत जनताको बलियो समर्थन आवश्यक रहेको बताए। “हामी डर देखाएर होइन, लोकतान्त्रिक प्रक्रियाबाट जनताको विश्वास जित्न चाहन्छौं,” कुर्मीले भने।
कुर्मीका अनुसार राप्रपाले देशलाई थप दुर्घटनातर्फ जान नदिन निर्वाचनलाई प्रमुख माध्यम बनाएको छ। उनले विद्यमान राजनीतिक अस्थिरता, बढ्दो असन्तोष र शासन प्रणालीप्रति जनआक्रोशका बीच अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।
देशको वर्तमान अवस्था गम्भीर मोडमा पुगेको उल्लेख गर्दै कुर्मीले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्। उनले स्थिरता, राष्ट्रिय हित र भविष्यको सुरक्षाका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता रहेको बताए।

