कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले सोमबार मायादेवी गाउँपालिका–५ बलुहवामा पार्टीका अग्रज नेता–कार्यकर्ता तथा समाजका अभिभावकहरूसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक पूर्वाधारलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका विविध समस्याबारे आफ्ना धारणा र सुझावहरू राखेका थिए । सहभागीहरूले क्षेत्रको समग्र विकासका लागि प्रभावकारी योजना र दृढ नेतृत्वको आवश्यकता औंल्याएका थिए ।
अन्तरक्रियामा उम्मेदवार मुसलमानले जनताको आवाज नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उठाइएका सबै विषयलाई गम्भीर रूपमा सुनेर समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनतासँग प्रत्यक्ष संवाद गरेर आवश्यकता पहिचान गर्दै विकासका कामलाई अघि बढाउने बताए ।
समाजका अभिभावकहरूले सक्षम, जनमुखी र अनुभवी नेतृत्वको आवश्यकता रहेको बताउँदै कांग्रेस उम्मेदवार मुसलमानप्रति समर्थन व्यक्त गरेका थिए। उनीहरूले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि क्षेत्रको प्रवर्द्धन, युवाका लागि रोजगारीका अवसर र सडक पूर्वाधारको विकासमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
उम्मेदवार मुसलमानले स्थानीय जनताको भरोसा र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि गाउँ–गाउँमा पुगेर जनताको समस्या बुझ्ने र विकासका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले क्षेत्र नं. १ मा आफ्नो चुनावी गतिविधिलाई थप तीव्र बनाएको छ ।

