जनता क्याम्पसलाई ८ लाख बराबरको सामग्री हस्तान्तरण


पालिका पत्र

२८ माघ २०८२, मंगलवार ०५:५२ मा प्रकाशित

बाणगंगा नगरपालिका- २ मा रहेको श्री पिपराकोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले जनता क्याम्पसलाई करिब ८ लाख रुपैयाँ बराबरको अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। आईतबार आज एक कार्यक्रमकाबीच उक्त सामग्री क्याम्पसलाई प्रदान गरिएको हो।

समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले हस्तान्तरण गरिएको सामग्री अन्तर्गत एसी उपलब्ध गराइएको जनाइएको छ। क्याम्पसको व्यवस्थापन तथा पठनपाठन वातावरण सहज बनाउन उक्त सामग्री महत्वपूर्ण हुने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष तथा क्याम्पसका अध्यक्ष विष्णु प्रसाद पौडेलले सामुदायिक वन उपभोक्ता समूहको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामुदायिक वनले शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता सहयोगले क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने उल्लेख गर्नुभयो।

वडाध्यक्ष पौडेलले धन्यवाद दिँदै भन्नुभयो, “निवर्तमान अध्यक्ष रत्नबहादुर कार्की, अध्यक्ष भीमसेन कार्की, सिङ्गो कार्यसमिति तथा साधारण सभाबाट निर्णय गर्नुहुने सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सामुदायिक वनले गरेको यो सहयोग शिक्षा क्षेत्रका लागि प्रेरणादायी छ।”

कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्यहरू, क्याम्पस व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्