वाणगंगा।
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्राम प्रसाद चौधरीले जनजीविका र राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बाणगंगा नगरपालिका अन्तर्गत वडा नं. १ देखि ११ सम्म निर्वाचन लक्षित वडा कमिटीका विस्तारित बैठक तथा घरदैलो कार्यक्रममार्फत चुनावी प्रचारप्रसार अघि बढाइएको हो।
निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का संयोजक डम्बर शर्माले देश निर्वाचनमय अवस्थामा रहेको उल्लेख गर्दै एमाले उम्मेदवारलाई विजयी बनाउन नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताए। उनले जेनेरेशन–जेड (जेन्जी) पुस्ताको भावना एमालेको भावना भएको स्पष्ट पार्दै नेतृत्वमा कमजोरी देखिए कार्यकर्तामाझ गएर आत्मआलोचना गर्नसमेत तयार हुनुपर्ने धारणा राखे। एकता र सक्रियतामै पार्टीको जित सुनिश्चित हुने उनको भनाइ थियो।
एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै राष्ट्रियताको सवालमा एमाले सधैँ अग्रपंक्तिमा रहेको बताए। “नेपाल रहे मात्रै नेपाली रहन्छौँ,” भन्दै उनले वर्तमान राजनीतिक अवस्था अग्रगमन र पश्चगमनबीचको संघर्ष भएको टिप्पणी गरे। उनले एमालेका उम्मेदवारलाई विजयी बनाउन सबैलाई आह्वान गरे।
उम्मेदवार विश्राम प्रसाद चौधरीले देश र जनताको जीवनस्तर सुधार एमालेको मूल एजेन्डा रहेको बताउँदै कार्यकर्तालाई गाउँ–टोल केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गरे। उनले युवा पुस्तालाई समुदायस्तरबाट उत्प्रेरित गर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताए।
घरदैलोका क्रममा मतदाताले स्थानीय विकास, पूर्वाधार विस्तार तथा नीति निर्माणका विषयमा आफ्ना सुझाव राखेका थिए। उम्मेदवार चौधरीले जनताका आधारभूत आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न र ती मुद्दा सदनमा उठाउन आफूले उम्मेदवारी दिएको स्पष्ट पारे।

