बिहीबार, २९ माघ २०८२
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा देशभरमा उत्कृष्ट नतिजा ल्यायो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका दोस्रो र गुल्मीको मालिका गाउँपालिका तेस्रो स्थानमा रहे।
प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा विभिन्न स्थानीय तहहरूले अंक प्राप्त गरे।
काठमाडौँ । स्थानीय तहको कार्यसम्पादनका आधारमा गरिएको पछिल्लो मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले देशभरिमै सबैभन्दा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको नतिजा अनुसार पाणिनी गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । देशभरका अन्य स्थानीय तहलाई पछि पार्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अङ्कका साथ दोस्रो स्थानमा रहन सफल भएको छ भने गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ अङ्क प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मीकै अर्को स्थानीय तह धुर्कोट गाउँपालिका पनि उत्कृष्ट पाँचभित्र अटाउँदै ८०।५२ अङ्कका साथ चौथो स्थानमा रहेको छ । यसैगरी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ७८.५० अङ्क प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको छ भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.१९ अङ्कका साथ छैटौँ स्थानमा परेको छ । मोरङको विराटनगर महानगरपालिका ७८.११ अङ्क सहित सूचीको सातौँ स्थानमा रहँदा डडेलधुराको अमरगढी नगरपालिकाले ७७.७९ अङ्क प्राप्त गरी आठौँ स्थान प्राप्त गरेको छ ।
उत्कृष्ट १० को सूचीमा दाङको राप्ती गाउँपालिका ७७.४६ अङ्कका साथ नवौँ स्थानमा अटाउन सफल भएको छ भने जाजरकोटको भेरीमालिका नगरपालिका ७६.९६ अङ्क प्राप्त गर्दै दशौँ स्थानमा परेको छ ।

