लुम्बिनी, २९ माघ २०८२।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी ४ हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराईले उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
उनका अनुसार गत आर्थिक वर्षमा बुटवल कार्यालयमा १,८५३ उजुरी परेकामा १,६०९ उजुरी फर्छ्यौट गरिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म १,१८८ उजुरीमध्ये ५४५ उजुरी टुंग्याइएको छ। विस्तृत अनुसन्धानमा रहेका १०४ उजुरीमध्ये ३७ वटा फर्छ्यौट भइसकेका छन्।
देशभर आयोग र मातहतका कार्यालयहरूमा ३७ हजार २६ उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ५४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। सङ्घीय सरकारअन्तर्गतका निकायसँग सम्बन्धित उजुरी ३३.६९ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १२.४७ प्रतिशत रहेका छन्।
अधिकांश उजुरी भूमि तथा वन, कृषि तथा पशु अनुदान, प्राकृतिक स्रोतको उपयोग, निर्माण तथा खरिद प्रक्रिया, उपभोक्ता समिति, शिक्षा र स्वास्थ्य क्षेत्रका औषधि तथा उपकरण खरिदसँग सम्बन्धित रहेका छन्।
कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको बताए। उनले निष्पक्ष अनुसन्धान र वस्तुनिष्ठ अभियोजनमार्फत सुशासन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए।
मुख्यमन्त्री चेतनारायण आचार्यले आयोगले पठाएका २१ बुँदे निर्देशनका कारण कतिपय आवश्यक काममा अवरोध सिर्जना भएको गुनासो गर्दै राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

