तिलौराकोटमा बारम्बार पूजाआजा गरिएको मन्दिर फेला


पालिका पत्र

३० माघ २०८२, बिहीबार १९:५१ मा प्रकाशित

काठमाडौँ, माघ २९ ।
कपिलवस्तुको ऐतिहासिक तिलौराकोट क्षेत्रमा पहिलो पटक अर्धवृत्ताकार (अप्सिडल) संरचनायुक्त प्राचीन बौद्ध मन्दिर तथा पूजाआजा गरिँदै आएको देवल (स्तूप) फेला परेको छ। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरहाम विश्वविद्यालयका पुरातत्वविद्हरूको करिब चार वर्ष लामो संयुक्त अनुसन्धानपछि उक्त संरचनाको भग्नावशेष पत्ता लागेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पुरातत्वविद् कोषप्रसाद आचार्यले दक्षिण एसियाकै उत्कृष्ट रूपमा सुरक्षित प्रारम्भिक ऐतिहासिक सहर मानिने तिलौराकोटमा यस्तो प्रकारको मन्दिर पहिलो पटक फेला परेको बताउनुभयो। उहाँका अनुसार उत्खननका क्रममा तेलका दियो भेटिनुले यो क्षेत्र लामो समयसम्म तीर्थयात्री र भक्तजनका लागि धार्मिक अनुष्ठानको केन्द्र रहेको संकेत गर्दछ।

“मन्दिरको मूल संरचना स्पष्ट रूपमा फेला परेको छ। त्यसभित्र बारम्बार पूजाआजा गरिएको प्रमाणस्वरूप माटोको देवल पनि भेटिएको छ,” आचार्यले भन्नुभयो, “संरचनाको विस्तृत वैज्ञानिक परीक्षणपछि यसको यथार्थ समय निर्धारण हुनेछ।” तिलौराकोट प्राचीन सहर छैटौँदेखि आठौँ शताब्दीसम्म सक्रिय रहेको मानिन्छ।

विभागद्वारा जारी विज्ञप्तिअनुसार दक्षिण एसियामा अप्सिडल मन्दिरहरू पछिल्लो भाग अर्धवृत्ताकार हुने विशिष्ट संरचनाका रूपमा चिनिन्छन्, जसले धार्मिक केन्द्रको परिभाषा निर्धारण गर्छ। यस्ता मन्दिरको अर्को छेउमा प्रवेशद्वारसहितको प्लेटफर्म हुन्छ। प्रारम्भिक कालमा चट्टान काटेर निर्माण गरिएका यस्ता संरचनाहरू पछिल्लो समय ढुङ्गा, काठ वा इँटाबाट निर्माण गरिन्थे। तिलौराकोटमा फेला परेको मन्दिर १.५ मिटर चौडाइका विशाल इँटाको पर्खालले घेरिएको छ, जसले यसको भव्यता र ऐतिहासिक महत्त्व झल्काउँछ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोट क्षेत्रको थप अनुसन्धानका लागि एक सय बिघा जग्गा अधिग्रहण गर्ने योजना रहे पनि हालसम्म ५० बिघा मात्रै अधिग्रहण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तिलौराकोटलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव पठाइएको थियो र थप अनुसन्धानको सुझाव प्राप्त भएको थियो। “बौद्ध मन्दिर र स्तूपसहितको यो महत्वपूर्ण संरचना फेला परेपछि सूचीकृत प्रक्रियामा थप बल पुग्ने विश्वास छ,” उहाँले भन्नुभयो।

दुरहाम विश्वविद्यालयका प्राध्यापक रोबिन कनिङ्घमले उत्खननबाट प्राप्त मन्दिर, स्तूप तथा अन्य अवशेषहरू बौद्धकालीन संरचना भएको स्पष्ट संकेत गर्ने बताउनुभयो।

नयाँ खोजले तिलौराकोटको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ सुदृढ बनाउँदै विश्व सम्पदामा सूचीकृत हुने सम्भावनालाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्