नेपाली कांग्रेस पार्टी आगामी निर्वाचनबाट देशकै सबैभन्दा ठूलो दल बन्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताउनुभएको छ ।
नेपाली कांग्रेस कपिलबस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपसभापति शर्माले नेपाली कांग्रेस छोडेर बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीभित्र फर्काउने अभियान सुरु भइसकेको जानकारी दिनुभयो । कपिलबस्तुका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
टिकट वितरणका क्रममा देखिएका केही कमजोरीका विषयमा बोल्दै उहाँले प्रत्येक प्रदेशका लागि पर्याप्त समय नपाउँदा समस्या देखिएको स्पष्ट पार्नुभयो । सातवटै प्रदेशका लागि जम्मा दुई दिन मात्र समय उपलब्ध हुँदा केही कमजोरी भएको उहाँको भनाइ छ ।
एउटा प्रदेशलाई मात्रै दुई दिनको समय दिइएको भए समस्या नआउने उहाँले बताउनुभयो ।
उपसभापति शर्माले नेपाली कांग्रेसले मात्रै देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको उल्लेख गर्दै अहिलेको निर्वाचन जित्नु पार्टी मात्र नभई देशकै आवश्यकताको विषय भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले फागुन १ गतेदेखि २१ गतेसम्म निर्वाचनमा सक्रिय रूपमा खटिने कार्यकर्तामध्ये उत्कृष्टलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. १ का प्रतिनिभि सभासदस्यका उम्मेदवार अतहर कमाल मुसलमान, क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य, क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

