विजयनगरमा १२ करोडको विद्यालय भवन योजना, ११ विद्यालय टिनमुक्त हुँदै


पालिका पत्र

१ फाल्गुन २०८२, शुक्रबार १७:५९ मा प्रकाशित

कपिलवस्तु,- विजयनगर गाउँपालिकाले ‘विद्यालय टिनको छाना मुक्त अभियान’ अन्तर्गत ११ वटा विद्यालयका लागि करिब १२ करोड रुपैयाँ बराबरको भवन निर्माण प्रक्रिया अघि बढाएको छ। अभियानमा २ वटा मदरसा सहित विभिन्न सामुदायिक विद्यालय समेटिएका छन्।

गाउँपालिका अध्यक्ष गोपाल थापाको पहलमा योजना अघि बढाइएको हो। अध्यक्ष थापाका अनुसार योजना कार्यान्वयनका लागि सांसद मंगल प्रसाद गुप्ता, सराज अहमद फारुकी तथा पूर्व मन्त्री रुपा बिकको संसदीय कोषबाट बजेट विनियोजन भएको हो। उनले सहयोग गर्ने सबै सांसद तथा पालिकाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका छन्।

टेन्डर प्रक्रिया अघि बढेका विद्यालयहरूमा मदरसा अहले सुन्नत कादरिया फैजल उलुम बरगदवा, हरिबोध मावि प्रेमनगर, लोटनराम द्रोपदी देवी मावि गणेशपुर, जनज्योति मावि शंकरपुर, त्रिनेत्र मावि मधुनगर, भुवनेश्वरी मावि जगदीशपुर, मदरसा अहले सुन्नत गौसिया दत्तपुर, जनजागृति मावि लोहरौला, नेपाल तारा मावि मगरघट्टा र नेवलागञ्ज आधारभूत विद्यालय नेवलागञ्ज रहेका छन्।

अध्यक्ष थापाका अनुसार हरिबोध मावि र मदरसा अहले सुन्नत कादरिया फैजल उलुम बरगदवामा १ करोड ५० लाख रुपैयाँका दरले भवन निर्माण हुनेछ भने अन्य विद्यालयमा प्रतिविद्यालय १/१ करोड रुपैयाँका दरले नयाँ भवन निर्माण गरिनेछ।

यस अभियानले पालिकाभित्रका विद्यालयलाई सुरक्षित, व्यवस्थित र टिनको छानामुक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ भवन निर्माणसँगै विद्यार्थीहरूको अध्ययन–अध्यापन वातावरणमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्