कपिलवस्तुको बाणगंगा, पिपरा र पटनामा अवस्थित वृक्षरोपण, पोखरी निर्माण,र पुर्नंउत्पादन कटान क्षेत्रमा संघीय स्तरबाट अनुगमन गरिएको छ।
अनुगमनमा डा. गोविन्द शर्मा वन सचिव, संघीय वन मन्त्रालय, इश्वरी प्रसाद पौडेल सिनियर डिभिजनल वन अधिकृत, कपिलवस्तु, वरिष्ठ वन अधिकृत मोहन मिश्र, यादव प्रसाद सापकोटा र बाबुराम पोखरेल लगायतका अधिकारीहरूको सहभागिता थियो।
टोलीले वृक्षरोपण क्षेत्र, निर्माण भएका पोखरी तथा पुनरुत्पादन कटान भइरहेको स्थानको स्थलगत अवलोकन गर्दै कार्यप्रगतिको समीक्षा गरेको जनाएको छ।
अनुगमनका क्रममा वन सचिव शर्माले कामलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन निर्देशन दिएका छन्। उनले वन व्यवस्थापनमा पारदर्शिता, दिगोपन र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरू पनि अनुगमनमा सहभागी थिए। संघीय तहबाट भएको अनुगमन र सुझावप्रति साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले आभार व्यक्त गरे । जयसवालले आगामी दिनमा टोलीले दिएको सुझावलाई कार्यान्वयन दृढता पूर्वक गर्ने बताए ।
बाणगंगा नगरपालिका–१०, पटनामा रहेको यस वनले हरियाली संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यहाँ नियमित रूपमा वृक्षरोपण, पुनरुत्पादन कटान र संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन्। वन क्षेत्रले स्थानीय बासिन्दालाई काठ, दाउरा, घाँस तथा अन्य वनजन्य स्रोत उपलब्ध गराउँदै जीविकोपार्जनमा समेत टेवा पुर्याएको छ। सामुदायिक सहभागितामा सञ्चालन भइरहेको यस वन व्यवस्थापन कार्यले दिगो विकास र वातावरण संरक्षणमा सकारात्मक योगदान दिएको छ।

