कपिलवस्तु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार एहसान अहमद खाँले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने मुख्य १० प्रतिबद्धता सार्वजनिक गरेका छन् ।कपिलवस्तुको बहादुरगन्ज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन प्रवर्द्धनसम्बन्धी स्पष्ट कार्ययोजना प्रस्तुत गरेका हुन् ।
उम्मेदवार खाँले नौमुरे–सुरही सिंचाइ आयोजना सम्पन्न गरी कृषकलाई वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराई नदी कटान नियन्त्रण तथा तटबन्ध निर्माणलाई तीव्रता दिई बाढीबाट हुने क्षति न्यूनीकरण गरिने उनले बताए। स्वास्थ्यतर्फ प्रदेशस्तरीय बाल तथा महिला प्रसूति अस्पताल स्थापना गरी गुणस्तरीय सेवा उपलब्ध गराइने उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा वन विज्ञान तथा कृषि क्याम्पस सञ्चालन गरिने योजना अघि सारेका छन ।
सामुदायिक तथा धार्मिक विद्यालयलाई निजी सरह सुविधा सम्पन्न र गुणस्तरीय बनाइने प्रतिबद्धता गरेका छन । औद्योगिक विकासका लागि कृष्णनगर मा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाह स्थापना, शिवराज नगरपालिका मा औद्योगिक करिडोर तथा विजयनगर गाउँपालिका मा कृषि, काष्ठ तथा पशुजन्य औद्योगिक करिडोर निर्माण गरिने योजना उनले सार्वजनिक गरेका छन ।
पर्यटन प्रवर्द्धनका लागि कृष्णनगर–सुपादेउराली–स्वर्गद्वारी भ्रमणलाई सहज बनाउन भन्सार तथा कर छुटसम्बन्धी कानुन निर्माण पहल गरिने र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी कृष्णनगरमा अध्यागमन (इमिग्रेशन) कार्यालय स्थापना गरिने उनले बताएका छन् ।
त्यस्तै बहादुरगञ्जदेखि दाङ नेपालगन्ज सम्म हुलाकी सडक निर्माणलाई पूर्णता दिइने समेत उल्लेख गरेका छन । खाँले यी प्रतिबद्धताले कपिलवस्तु–३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको नयाँ चरणमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

