जितपुर । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा चुनावी सरगर्मी बढेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा दलहरू आ-आफ्नो जितको दाबी गर्दै घरदैलो अभियानमा व्यस्त छन् । तर पुराना दलप्रति मतदातामा देखिएको वितृष्णाबीच केही उम्मेदवारले भने व्यक्तिगत छविका आधारमा समर्थन पाइरहेका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका वरिष्ठ समाजसेवी कृष्ण बहादुर कुँवरलाई मतदाताले पार्टीभन्दा माथि राखेर हेर्ने गरेका छन् । बाणगंगामा घरदैलोका क्रममा स्थानीयले अन्य दलका नेताप्रति असन्तुष्टि जनाउँदै कुँवरलाई समर्थन गर्ने बताएका थिए ।
मतदातासँगको संवादमा कुँवरले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्ने, भ्रष्टाचारमुक्त र इमानदार नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरे । उनले चुनाव जिते पनि हारे पनि समाजकै बीचमा रहने अठोट दोहोर्याए ।
घरदैलो अभियानका क्रममा स्थानीय युवादेखि वृद्धसम्मले सकारात्मक प्रतिक्रिया जनाइरहेको उनको दाबी छ । जिल्लामा पुराना दलप्रति निराशा बढ्दै जाँदा कुँवरप्रति जनचासो बढेको देखिन्छ ।

