रोल्पामा निर्वाचन प्रहरी कुट्ने दुई प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही गरिएको छ । तालिमका क्रममा निर्वाचन प्रहरीमाथि तालिमका दुई जना प्रशिक्षकले दुई समूहमा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि अचानक कुटपिट गरेका थिए।
घटनामा संलग्न दुई जना प्रहरी प्रशिक्षक प्रहरी जवान आरके खड्का र तिलक घर्ती मगरमाथि विभागीय कारबाही गरिएको जिल्ला प्रहरीले जनाएको छ। उनीहरूले पाउने ग्रेड रोक्का गर्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत सोमबार बेलुकी निर्वाचन प्रहरी कुटिएका थिए। खाना खुवाएर बास बस्ने स्थानमा जाने क्रममा बाटैबाट फिर्ता गरेर निर्वाचन प्रहरीमाथि जथाभावी कुटपिट गरिएको थियो।
कुटाइबाट घाइतेमध्ये १६ जनालाई रोल्पा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। सुरुमा घटना गोप्य राखिए पनि नागरिक समाजको दबाबका कारण ४ दिनपछि कुटपिटमा संलग्न प्रहरी प्रशिक्षकमाथि कारबाही भएको हो। जथाभावी कुटपिट गरेका कारण धेरैजसो निर्वाचन प्रहरीको ढाड, खुट्टा र हातमा चोट लागेको रोल्पा अस्पतालले जनाएको छ।
घटना बारेमा अनुसन्धान गरिएको र संलग्न भएकामाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए ।

