श्रृंगीघाट सामुदायिक वनले सुरु गर्‍यो ‘घर–घरमा नर्स’ कार्यक्रम


३ फाल्गुन २०८२, आईतवार २१:५५ मा प्रकाशित

बाणगंगा ।
बाणगंगा नगरपालिका–१, ३, ४ र ५ का नागरिकहरूका लागि अब आधारभूत स्वास्थ्य सेवा घरमै पुग्ने भएको छ । श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले फाल्गुन १ गतेदेखि “घर–घरमा नर्स कार्यक्रम” सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरूले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा पाउने समूहका अध्यक्ष शुसिल सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार ग्रामीण बस्तीमा स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी सेवा विस्तार गरिएको हो । यस कार्यले उपभोक्ताको आर्थिक खर्च समेत बच्ने अध्यक्ष ठकुरीले बताए । “समुदायको स्वास्थ्य अवस्था सुधार्नु हाम्रो साझा जिम्मेवारी हो । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई घरमै सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरेका हौं,” उनले बताए ।

यस अभियानअन्तर्गत गर्भवती र सुत्केरी महिलाको घरमै स्वास्थ्य जाँच तथा परामर्श, बालबालिकाको वृद्धि र पोषण अनुगमन, सामान्य रोगहरूको उपचार तथा आवश्यक औषधि वितरण गरिनेछ । साथै परिवार नियोजन, सरसफाइ र स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतनामूलक शिक्षा पनि प्रदान गरिने बताईएको छ ।

जटिल स्वास्थ्य समस्या देखिएमा बिरामीको अवस्था पहिचान गरी आवश्यक परे सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने यस पहललाई समुदायले सकारात्मक रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्