कपिलवस्तु । अत्तहर कमाल मुसलमानले सुशासन र समग्र विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाएको बताएका छन्। नेपाली काङ्ग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार रहेका उनले निर्वाचन लक्षित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले आफू पदमा हुँदा वा नहुँदा सधैं भ्रष्टाचारविरुद्ध आवाज उठाएको उल्लेख गर्दै एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरे। “मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, आगामी दिनमा पनि गर्दिनँ,” उनले भने, “जनताको विश्वास जितेर पारदर्शी र उत्तरदायी नेतृत्व दिनु मेरो लक्ष्य हो।”
उम्मेदवार मुसलमानले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विस्तार तथा युवालाई रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। जनताको आवश्यकता र चाहनाअनुसार योजनाबद्ध ढंगले अघि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको चन्द्रकान्त पोखरेलले जानकारी दिए।


