कपिलवस्तुका शिवालयमा महाशिवरात्रिको रौनक, भक्तजनको उल्लेख्य उपस्थिति


पालिका पत्र

३ फाल्गुन २०८२, आईतवार २०:१७ मा प्रकाशित

कपिलवस्तु । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा कपिलवस्तुका प्रमुख शिवालयहरूमा आइतबार बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। नदी, कुण्ड तथा तलाउमा स्नान गरी भगवान् शिवको पूजा–आराधनामा सरिक हुन जिल्लाभित्र तथा बाहिरबाट हजारौँ श्रद्धालुहरू आएका छन्।

जिल्लाको पश्चिमोत्तर किनारमा चुरे पहाडको टाकुरामा अवस्थित शिवगढी मन्दिरमा यस वर्ष विशेष आकर्षण देखिएको छ। महाशिवरात्रिको अवसरमा दुई–तीन दिन अघिदेखि नै टाढा–टाढाबाट भक्तजनहरू आउने क्रम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

शिवगढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनका अनुसार महाशिवरात्रिका दिन यहाँ दर्शन गर्दा चिताएको इच्छा पूरा हुने जनविश्वास छ। यही आस्थाका कारण कपिलवस्तुसहित दाङ, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा तथा भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन्। उनले शिवगढी पौराणिक महत्त्व बोकेको स्थल भएको उल्लेख गर्दै सतिदेवीको जिब्रो खसेको किंवदन्तीका कारण पनि यहाँ विशेष श्रद्धा रहेको बताए।

त्यस्तै कपिलवस्तु, दाङ र अर्घाखाँचीको संगमस्थलमा अवस्थित धानखोला मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ। शिवगढी जाने प्रवेशद्वारका रूपमा चिनिने धानखोलामा अन्य वर्षको तुलनामा यस पटक बढी भीड देखिएको व्यवस्थापन समितिले जनाएको छ। महाशिवरात्रि मेला, सांस्कृतिक कार्यक्रम तथा टाढाबाट आएका भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको छ।

सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीहरूको लामो लाइन लागेको छ। वाणगंगा नदीको रामघाटमा स्नान गरी श्रद्धालुहरू जलार्पणका लागि मन्दिर पुगेका छन्। मन्दिर परिसरमा मुण्डन, कथा–प्रवचनलगायत धार्मिक गतिविधिहरूले थप चहलपहल बढाएको छ।

यसैगरी रामदत्तिवल, कपिलधाम, रमवादह, हथौसा, पिपरा, वनगाई वाणगंगालगायतका शिवालयहरूमा पनि दिनभर भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ।

महाशिवरात्रि पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासनले आवश्यक तयारी गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै समन्वय र व्यवस्थापन मिलाइएको बताए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले पनि शनिबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। प्रमुख धार्मिक स्थलहरूमा प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको र अहिलेसम्म पर्व शान्तिपूर्ण रूपमा मनाइएको उनले बताए।

आस्था, श्रद्धा र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने महाशिवरात्रि पर्वले कपिलवस्तुभर आध्यात्मिक उत्साह र उल्लास थपेको छ।

प्रतिक्रिया दिनुहोस्