कपिलवस्तु । फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु क्षेत्र नं. १ मा विकास र सुशासनमुखी कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले “सीपयुक्त युवा, आत्मनिर्भर समाज” को नारासहित क्षेत्रको रूपान्तरणका लागि योजनाबद्ध अभियान अघि सारेका हुन्।
समाजसेवा र विकासमुखी सक्रियताका कारण परिचित चौधरीले दीर्घकालीन विकास, रोजगारी विस्तार र पारदर्शी शासनलाई प्राथमिक लक्ष्य बनाएको बताएका छन्। आधारभूत पूर्वाधार सुदृढीकरण अन्तर्गत सडक स्तरोन्नति, पुल तथा तटबन्ध निर्माण, रिङ्गरोड र बसपार्क व्यवस्थापन तथा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने योजना उनले प्रस्तुत गरेका छन्।
कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै सिँचाइ सुविधा विस्तार, उत्पादन वृद्धि र बजार व्यवस्थापनमार्फत किसानको आम्दानी बढाउने लक्ष्य पनि उनको एजेन्डामा समेटिएको छ। साथै युवालाई सीपमूलक तालिम, उद्यम प्रवर्द्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सामाजिक न्यायको सुनिश्चितता र समावेशी विकासलाई बलियो बनाउने कार्यक्रमसमेत अघि सारिएको छ। बुद्ध सर्किटसँग सम्बन्धित ऐतिहासिक–सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमार्फत क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउने उनको योजना छ।
सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने अठोट दोहोर्याउँदै चौधरीले वातावरण संरक्षण र सुरक्षित बसोबासलाई समेत प्राथमिकतामा राख्ने बताएका छन्।
कपिलवस्तु क्षेत्र नं. १ का मतदातासमक्ष स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्वसहित विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।


