निर्वाचन लक्षित बजार व्यवस्थापनमा उद्योग व्यापार संघ कपिलवस्तुको आह्वान


पालिका पत्र

३ फाल्गुन २०८२, आईतवार २१:२९ मा प्रकाशित

कपिलवस्तु । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै उद्योग व्यापार संघ कपिलवस्तुले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका विषयमा उद्योगी–व्यवसायीलाई सचेत गराएको छ। निर्वाचनको समयमा बजारमा अभाव, कालोबजारी तथा कृत्रिम मूल्यवृद्धि हुन नदिन संघले आवश्यक सतर्कता अपनाउन आह्वान गरेको हो।

संघका अध्यक्ष टोपनारायण बेल्बासेका अनुसार निर्वाचन अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सबै व्यवसायीको दायित्व हो । खाद्यान्न, लत्ताकपडा, डिजेल, पेट्रोल, ग्यास, औषधिजन्य सामग्री, माछा–मासु, दुग्ध पदार्थ लगायतका घरायसी सामानको आपूर्तिमा कुनै अवरोध आउन नदिन समन्वयात्मक भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

संघले सबै पसल तथा व्यवसायिक प्रतिष्ठानमा स्पष्ट र देखिने गरी मूल्यसूची अनिवार्य राख्न तथा मूल्यमा एकरूपता कायम गर्न निर्देशनात्मक अनुरोध गरेको छ । साथै, म्याद गुज्रेका सामान बिक्री वितरण नगर्न र त्यस्ता सामग्रीमाथि विशेष निगरानी राख्न समेत आग्रह गरिएको छ ।

अध्यक्ष बेल्बासेले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै स्वच्छ, गुणस्तरीय तथा मापदण्ड अनुरूपका वस्तु मात्र बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, संघले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण पर्वका रूपमा व्याख्या गर्दै सम्पूर्ण मतदातालाई आफ्नो मताधिकारको सही सदुपयोग गर्न अपिल गरेको छ । मतदान केन्द्रसम्म सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग समन्वय र आवश्यक वातावरण निर्माण गर्न विशेष अनुरोध गरिएको छ । संघले बजारको स्थिरता र उपभोक्ताको हित संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्