जितपुर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण बहादुर कुँवरले टी–२० विश्वकप क्रिकेटमा नेपालले भोगेको लगातार दुई हारप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बलियो प्रतिद्वन्द्वी वेष्टइण्डिजसंग सँग पराजित भएसँगै नेपालको आगामी यात्रा समाप्त भएपछि आफू निकै भावुक बनेको उनले बताएका हुन्।
पालिका पत्रसँगको कुराकानीमा कुँवरले भने, इंग्ल्याण्डसंगको साँघुरो हारपछि उच्च मनोबलमा रहेको नेपालले नामिबिया र वेष्टइण्डिज दुवैलाई पराजित गर्ने अपेक्षा गरेका थियौँ । तर ठीक उल्टो भयो । इंग्ल्याण्डसँग खेलेको स्तरको खेल नेपालले पछिल्ला दुई खेलमा देखाउन सकेन । हामीले दुवै खेल गुमायौँ। तथापि, हार मान्न र निराश हुन हुँदैन ।”
हार र पीडालाई पनि जिततर्फ उन्मुख हुने अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले खेलाडीहरूलाई अझ जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे । कपिलवस्तुबाटै खेलकुद पूर्वाधार विकासको नयाँ सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुँवरले रंगशालालाई केवल खेल मैदानमा सीमित नराखी प्रतिभा उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “नेपाली क्रिकेटको पराजयले मन दुःखाएको छ । तर यही पीडाले हामीलाई अझ जिम्मेवार बनाउँछ । नेपाल राष्ट्रिय क्रिकेट टोली हार्दा दुःख लाग्छ, तर हारको कारण खोजेर समाधानतर्फ लाग्नु नै साँचो देशप्रेम हो । यस क्षेत्र नं. १ मा रहेका रंगशालाको स्तरोन्नतिका लागि ध्यान गएको छ । धैर्य गरौँ, साथी हो—दिन नजिकिँदैछ । रंगशाला केवल मैदान होइन, प्रतिभा उत्पादन गर्ने केन्द्र बनाउने प्रयास गर्नेछु । समृद्ध कपिलवस्तु निर्माणका लागि हातेमालो गरौँ ।”
कुँवर यस क्षेत्रका सुपरिचित व्यक्तित्व हुन् । उनले कपिलवस्तुको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन् । विगत १० वर्षदेखि विभिन्न खेलकुद सञ्चालन गर्ने क्लबहरूलाई सहयोग गर्दै आएका कारण उनी धेरै खेलाडीहरूको रोजाइमा पर्दै आएका छन् ।


