जितपुर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण बहादुर कुँवरले टी–२० विश्वकप क्रिकेटमा नेपालले भोगेको लगातार दुई हारप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बलियो प्रतिद्वन्द्वी वेष्टइण्डिजसंग सँग पराजित भएसँगै नेपालको आगामी यात्रा समाप्त भएपछि आफू निकै भावुक बनेको उनले बताएका हुन् ।
मिडिया संगको कुराकानीमा कुँवरले भने, इंग्ल्याण्डसंगको साँघुरो हारपछि उच्च मनोबलमा रहेको नेपालले ईटली र वेष्टइण्डिज दुवैलाई पराजित गर्ने अपेक्षा गरेका थियौँ । तर ठीक उल्टो भयो । इंग्ल्याण्डसँग खेलेको स्तरको खेल नेपालले पछिल्ला दुई खेलमा देखाउन सकेन । हामीले दुवै खेल गुमायौँ। तथापि, हार मान्न र निराश हुन हुँदैन ।”
हार र पीडालाई पनि जिततर्फ उन्मुख हुने अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले खेलाडीहरूलाई अझ जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे । कपिलवस्तुबाटै खेलकुद पूर्वाधार विकासको नयाँ सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुँवरले रंगशालालाई केवल खेल मैदानमा सीमित नराखी प्रतिभा उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “नेपाली क्रिकेटको पराजयले मन दुःखाएको छ । तर यही पीडाले हामीलाई अझ जिम्मेवार बनाउँछ । नेपाल राष्ट्रिय क्रिकेट टोली हार्दा दुःख लाग्छ, तर हारको कारण खोजेर समाधानतर्फ लाग्नु नै साँचो देशप्रेम हो । यस क्षेत्र नं. १ मा रहेका रंगशालाको स्तरोन्नतिका लागि ध्यान गएको छ । धैर्य गरौँ, साथी हो—दिन नजिकिँदैछ । रंगशाला केवल मैदान होइन, प्रतिभा उत्पादन गर्ने केन्द्र बनाउने प्रयास गर्नेछु । समृद्ध कपिलवस्तु निर्माणका लागि हातेमालो गरौँ ।”
कुँवर यस क्षेत्रका सुपरिचित व्यक्तित्व हुन् । उनले कपिलवस्तुको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन् । विगत १० वर्षदेखि विभिन्न खेलकुद सञ्चालन गर्ने क्लबहरूलाई सहयोग गर्दै आएका कारण उनी धेरै खेलाडीहरूको रोजाइमा पर्दै आएका छन् ।
यसैबीच, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेकपा क्षेत्र नम्बर १ (ख) का चुनावी कमाण्डर फैजल खानले पनि नेपालको हारप्रति दुःख व्यक्त गरेका छन् । सुपर–८ मा पुग्ने नेपालको सपना समाप्त भएको उल्लेख गर्दै उनले अब विश्वकपबाट प्राप्त अनुभवका आधारमा कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपालको क्रिकेट विकासका लागि कपिलवस्तुले पनि महत्वपूर्ण टेवा दिनुपर्नेमा जोड दिँदै खानले जिल्लामा राष्ट्रिय स्तरको खेलमैदान निर्माण गरी नयाँ क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक रहेको बताए ।
नेकपाले जित हासिल गरे निर्वाचन क्षेत्र नम्बर १ मा खेलाडीका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उनको ठोकुवा छ । साथै, नेकपाका उम्मेदवार कुँवर खेलप्रेमी व्यक्तित्व भएकाले उहाँकै नेतृत्वमा यहाँको खेल क्षेत्रले उल्लेखनीय फड्को मार्ने विश्वास खानले व्यक्त गरेका छन् ।


