बाणगंगाका अमृत बेल्बासे सम्पर्कविहीन : खोजी कार्यमा सहयोगको अपिल


पालिका पत्र

४ फाल्गुन २०८२, सोमबार १५:३४ मा प्रकाशित

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन बनेका हुन्।

अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो–खैरो रंगको हुड, सेतो पाइन्ट तथा खुट्टामा चप्पल लगाएका थिए।

परिवारले दिएको जानकारीअनुसार अमृत बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एक फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो। त्यसपछि उनको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।

अमृतका पिता जनकप्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। अमृत लौगाईमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए।

बालक हराएपछि परिवार तथा आफन्तले खोजी कार्य तीव्र बनाएका छन्। अमृतको बारेमा कसैलाई कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासेलाई 9840489209 नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्