महाशिवरात्री उत्सव भव्य: तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन


पालिका पत्र

४ फाल्गुन २०८२, सोमबार २०:४० मा प्रकाशित

कपिलवस्तु, ४ फाल्गुन २०८२ ।
महाशिवरात्री पर्वको अवसरमा तौलिहवास्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा एक लाख ३२ हजार रुपैयाँ भेटी संकलन भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताका अनुसार उक्त रकम शिवरात्रीकै दिन संकलन गरिएको हो।

उहाँका अनुसार महाशिवरात्रीका अवसरमा एक लाखभन्दा बढी श्रद्धालु भक्तजनले मन्दिरमा दर्शन गरेका थिए। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको उल्लेख्य भीड देखिएको थियो।

भक्तजनहरूले विधिपूर्वक पूजा–अर्चना गरी जल चढाउँदै भगवान् शिवप्रति आफ्नो आस्था प्रकट गरेका थिए। पर्वलाई व्यवस्थित बनाउन मन्दिर परिसरमा विशेष सुरक्षा तथा व्यवस्थापनको तयारी गरिएको समितिले जनाएको छ।

संकलित भेटी तथा सहयोग रकम मन्दिरको नियमित व्यवस्थापन, सरसफाइ तथा आगामी धार्मिक कार्यक्रम सञ्चालनमा खर्च गरिने समितिको जानकारी छ।

प्रतिक्रिया दिनुहोस्