नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु–१ मा चुनावी अभियान तीव्र बनाउने


पालिका पत्र

४ फाल्गुन २०८२, सोमबार २०:४९ मा प्रकाशित

कपिलवस्तु, फाल्गुन ४, २०८२ ।
आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले निर्वाचन गतिविधिलाई थप तीव्र र व्यवस्थित बनाउने निर्णय गरेको छ। बाणगंगामा सम्पन्न अगुवा कार्यकर्ताहरूको विस्तारित समीक्षा बैठकले चुनावी रणनीतिलाई सशक्त र परिणाममुखी ढंगले अघि बढाउने निष्कर्ष निकालेको हो।

बाणगंगा–४ स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा आयोजित बैठक निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा हालसम्म सञ्चालन गरिएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको जनाइएको छ।

संयोजक शर्माका अनुसार घरदैलो, टोलभेला, मतदाता भेटघाट तथा संगठन सुदृढीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइनेछ। साथै निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्र पार्दै संगठनलाई चलायमान बनाउने निर्णय गरिएको छ।

बैठकमा सह–संयोजक शंकर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपसचिव भेषराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीलगायत प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकले आगामी दिनमा जनताको घरदैलो कार्यक्रमलाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउँदै निर्वाचन अभियानलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्