कपिलवस्तुमा शंकास्पद गतिविधि: प्रहरीको संयुक्त टोलीद्वारा एक पक्राउ


पालिका पत्र

५ फाल्गुन २०८२, मंगलवार १९:४५ मा प्रकाशित

बाणगंगा ।
कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा शंकास्पद विष्फोटक पदार्थ राखिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार जिल्लाका तीन फरक स्थानमा बमजस्तो देखिने वस्तु फेला परेपछि अनुसन्धान तीव्र पारिएको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार बुद्धभूमि नगरपालिका–२ अन्तर्गत गोरुसिङ्गे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग खण्ड, महाराजगञ्ज नगरपालिका–२ को वाणगंगा नदीस्थित बगदी पुल नजिक तथा शिवराज नगरपालिका–१ अन्तर्गत शिवपुर रेन्जर पोस्ट आसपास शंकास्पद वस्तु फेला परेको थियो । ती स्थानहरू सार्वजनिक आवतजावतका क्षेत्र भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको थियो ।

विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा वाणगंगा नगरपालिका–२ तिनैया निवासी ४५ वर्षीय शोभे थारु (खोमे थारु) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का साधारण सदस्य रहेको बताइएको छ ।

पक्राउ कार्यमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोली खटिएको थियो । प्रहरीका अनुसार अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ अन्तर्गत विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्