राजनीति बुझ्ने सच्चा ब्यक्तिहरु भन्छन् ‘अरुभन्दा कुँवर यसकारण सर्वश्रेष्ठ उम्मेदवार’


पालिका पत्र

५ फाल्गुन २०८२, मंगलवार २०:०४ मा प्रकाशित

जितपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका कृष्णबहादुर कुँवर यतिबेला चुनावी मैदानमा चर्चाको केन्द्रमा छन् । यस क्षेत्रमा ‘वरिष्ठ समाजसेवी’को ब्रान्ड बनाएका कुँवरलाई धेरैले सबैभन्दा अब्बल उम्मेदवारका रूपमा लिने गरेका छन् । भूगोल बुझेका राजनीतिज्ञ, बुद्धिजीवी तथा व्यवसायीहरूले उम्मेदवारहरूको तुलना गर्दा कुँवर नै योग्य रहेको बताउने गरेका छन् ।

यस क्षेत्रमा मुख्यतः पाँच उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका विश्राम प्रसाद थारु, काँग्रेसका अतहर कमाल मुसलमान, नेकपाका कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य र स्वतन्त्र उम्मेदवार आशिष शर्माबीच कडा भिडन्त हुने आकलन गरिएको छ ।

आफ्नो संगठन र लोकप्रियता प्रदर्शन गर्न कुँवरले सोमबार सामान्य र्याली आयोजना गरेका थिए । उक्त र्यालीपछि कपिलवस्तुमा चुनावी माहोल तातेको स्थानीयहरू बताउँछन् । संगठन कमजोर रहेको चर्चा चलिरहेका बेला सोमबारको जनसहभागिताले ठूला दलहरूलाई समेत पुनः रणनीति बनाउन बाध्य बनाएको चर्चा छ । विशेषगरी युवा तथा जेएनजी पक्षका नेता–कार्यकर्ताहरू कुँवरतर्फ आकर्षित देखिएपछि प्रतिस्पर्धीहरू पनि सतर्क बनेका छन् । यदि यो समर्थन अन्तिमसम्म कायम रहेमा कुँवरले जित निकाल्न सक्ने अनुमान गर्न थालिएको छ। स्वयं कुँवर भने जितप्रति ढुक्क देखिन्छन् ।

यस निर्वाचनलाई नयाँ र पुराना उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । पुराना अनुहारमा दुई पटक निर्वाचित अतहर कमाल मुसलमान र एक पटक निर्वाचित विश्राम थारु छन् भने नयाँ उम्मेदवारका रूपमा कुँवर, शर्मा र आचार्य छन् । मतदातालाई को सर्वश्रेष्ठ भन्ने छुट्याउन कठिन भए पनि स्थानीय राजनीतिज्ञ, बुद्धिजीवी र व्यवसायीहरू गुणस्तरका आधारमा कुँवर अब्बल रहेको बताउँछन् । यस्तो विश्लेषण गर्नेक्रममा पार्टीका कार्यकर्ता नभएर समाज र राजनीति बुझ्ने सच्चा ब्यक्तिहरुसंग हामीले भेट गरेका छौँ ।

मंगलबार वडा नम्बर ४ मा भएको छलफलमा एक स्थानीय बुद्धिजीवीले भने, “दोहोरिने नेताको कुरा नगरौँ । उनीहरूलाई फेरि मत माग्ने नैतिक अधिकार छैन । नयाँ सबै उम्मेदवार राम्रा छन् । मोहन आचार्य पढे–लेखेका छन्, आशिष शर्मा युवा हुन् । तर कुँवर स्थानीय हुन्, समाजमा भिजेका छन्, राजनीतिक सोच राख्छन् । समाजलाई चाहिने व्यक्ति उनी नै हुन् ।”

उनीसँग ‘सबैभन्दा अब्बल उम्मेदवार को ?’ भन्ने प्रश्न गर्दा उनले भने, “उम्मेदवार हुन विज्ञता मात्र काफी हुँदैन । भूगोल, समाज र राजनीति बुझ्नुपर्छ । सामाजिक योगदान पनि हुनुपर्छ। सबैले स्वीकार गर्ने व्यक्तित्व हुनुपर्छ । यस हिसाबले कुँवर नै उत्तम देखिन्छन् । मैले उनलाई चिनेको छु । उनको परिवार पनि राजनीतिमा थियो । उनी पार्टीको ट्यागभन्दा माथि उठेर राजनीति बुझ्ने व्यक्ति हुन्। यहाँको जनजीवन र भूगोल दुवै बुझेका छन् ।”

गजेहडामा भएको अर्को छलफलमा पनि स्थानीयहरूले कुँवरलाई समाजले खोजेको व्यक्ति बताएका छन् । दक्षिण क्षेत्रसम्म गरिएको मत सर्वेक्षणमा पनि कुँवरमाथि खासै आरोप नलागेको प्रतिक्रिया आएको बताइन्छ । “अरूलाई आरोप छन्, कुँवरमा खोट देखिँदैन। प्रत्यक्षमा एक मत त दिन्छु,” एक मतदाताले भने ।

बाणगंगा नगरपालिका–७, बनगाईमा आयोजित छलफलमा लामो समय मोतिपुरमा शिक्षण गरी अवकाश प्राप्त एक बुद्धिजीवीले उम्मेदवारहरूको गुण–दोष विश्लेषण गर्दै भने, “आशिष शर्मा युवा हुन्, केही गर्ने आँट छ । तर बाबुको विरासत जोगाउन आएको जस्तो देखिन्छ । सही हुन्थे भने काँग्रेसमै रहेर टिकट लिनुपथ्र्यो । मोहन आचार्य पढे–लेखेका छन्, तर स्थानीय भूगोल र जनताको समस्या कति बुझेका छन् भन्ने प्रश्न छ । कमाल र थारुलाई पनि चिन्छु, तर दोहोर्‍याएर किन जित दिने ?” उनले थपे, “समाजलाई अहिले चाहिने व्यक्ति कुँवर नै हुन् । स्थानीय राजनीति र भूगोल बुझेका छन्, सहयोगी स्वभावका छन्, भिजन पनि छ। यस्ता व्यक्तिलाई निरुत्साहित गर्नु हुँदैन। पार्टीभन्दा माथि उठेर मतदान गर्ने हो भने कुँवर अब्बल छन् । यद्यपि संगठन कमजोर भएकाले जित्न चुनौतीपूर्ण छ। म प्रत्यक्ष मत भने उनैलाई दिन्छु, समानुपातिक मत आफ्नो पार्टीलाई ।” सचेत बुद्धिजिवीले यो चुनावमा पार्टीभन्दा पात्र चिन्नु पर्ने बताउँछन् ।

उत्तरदेखि दक्षिणसम्म कुँवरको चर्चा व्यापक बनेको छ । कतिपयले उनको व्यक्तित्वकै आधारमा जित्ने अनुमान गरेका छन् भने केहीले संगठन कमजोर भएकाले कठिन हुने विश्लेषण गरेका छन् । कुँवर भने “म नजिते यो क्षेत्रले नै हार्छ” भन्दै चुनाव जितेरै छोड्ने दाबी गर्छन् । आफूले गरेका प्रतिबद्धता पूरा गर्ने र कहिल्यै भ्रष्टाचार नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्