कपिलवस्तु क्षेत्र नम्बर १ मा माधव भाट : कमजोर संगठन, अब्बल उम्मेदवार


पालिका पत्र

५ फाल्गुन २०८२, मंगलवार २०:१९ मा प्रकाशित

जितपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर कपिलवस्तु क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा देखिएको छ । वर्तमान राजनीतिक समीकरण हेर्दा हेविवेट भिडन्तका बीच एक उम्मेदवार भने केही हदसम्म छायाँमा परेका छन् । यस क्षेत्रमा माधव भाट सहित विश्राम थारु (एमाले), अतहर कमाल मुसलमान (काँग्रेस), कृष्ण बहादुर कुँवर (नेकपा), मोहन आचार्य (रास्वपा), तथा स्वतन्त्र उम्मेदवार आशिष शर्मा बीच प्रतिस्पर्धा भइरहेको छ। यद्यपि मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा, रास्वपा र स्वतन्त्र उम्मेदवारबीच नै हुने आकलन गरिएको छ ।

उम्मेदवारहरूमा नयाँ र पुराना दुवै अनुहार समावेश छन् । नयाँ अनुहारका रूपमा नेकपाका कुँवर, स्वतन्त्रका आशिष शर्मा, रास्वपाका मोहन आचार्य र राष्ट्रिय जनमोर्चाका माधव भाट रहेका छन् । सबै उम्मेदवार आ-आफ्नै योग्यता र पृष्ठभूमिका कारण चर्चामा छन् । हालसम्म कसले बाजी मार्ने भन्ने निश्चित छैन। मतदाताले भने सबै उम्मेदवारको नाडी छामिरहेका छन् । केही स्थानीय बुद्धिजीवीहरूका अनुसार मुख्य प्रतिस्पर्धीमध्ये माधव भाट सबैभन्दा सक्षम उम्मेदवार मानिन्छन् ।

बाणगंगाका एक बुद्धिजीवीका अनुसार, भदौ २३ र २४ को जेएनजी विद्रोहपछि मुलुकले युवा नेतृत्वको खोजी गरिरहेको सन्दर्भमा क्षेत्र नम्बर १ का सबैभन्दा युवा उम्मेदवार माधव भाट नै हुन् । उनका अनुसार, संगठन कमजोर भए तापनि भाट व्यक्तिगत रूपमा सबल उम्मेदवार हुन्। राजनीतिक चेत, देश–विदेशको अनुभव, सामाजिक संघसंस्थामा कुशल नेतृत्व, युवा सोच र स्वच्छ छवि उनका विशेषता हुन्। उनी इमान्दार र राष्ट्रप्रेमी व्यक्तित्व भएको दाबी पनि गरिएको छ । उक्त बुद्धिजीवीले भने, “माधवको संगठन बलियो भएको भए जितमा कुनै शंका रहने थिएन। पात्र बलियो भए पनि पार्टी संरचना कमजोर हुनु उनको चुनौती हो।”

स्वयं भाटले पनि आफूलाई सबैभन्दा योग्य र जेएनजीको प्रतिनिधि उम्मेदवार भएको दाबी गरेका छन् । जनताले अवसर दिए एकपटक आफूलाई जिताउनुपर्ने उनको आग्रह छ। उनले यसपटक आफू विजयी हुने विश्वास व्यक्त गरेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा चर्किंदै जाँदा मतदाताको अन्तिम निर्णय नै निर्णायक बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्