कपिलवस्तु ।
हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुल ले आफ्नो १६औँ अभिभावक दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। वाणगंगा नगरपालिका–२, पिपरा मा अवस्थित विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्याप्सन लुम्बिनी प्रदेश का अध्यक्ष लालहरि पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विद्यालयका निर्देशक बुद्धिराम पौडेल विशेष अतिथि रहनुभएको थियो। साथै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरे, प्याप्सन कपिलवस्तु का पूर्व अध्यक्ष सुन्दर पाण्डे, अभिभावक, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य, शैक्षिक प्रदर्शनी तथा विविध सिर्जनात्मक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए। उनीहरूको आत्मविश्वास, अनुशासन र प्रतिभाले विद्यालयको शैक्षिक गुणस्तरको स्पष्ट झल्को दिएको उपस्थित अभिभावकहरूले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालहरि पाण्डेले विद्यालयलाई कपिलवस्तु जिल्लाकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र अभिभावकसँगको सहकार्यलाई विद्यालयको प्रमुख विशेषता बताए। उनले निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षाको विकासमा थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी शिक्षा शाखा प्रमुख रोशन घिमिरेले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यवहारिक सीप विकासमा विद्यालयले उदाहरणीय कार्य गरेको बताए।
कार्यक्रमको सञ्चालन शिक्षक तेजप्रसाद आचार्यले गर्नुभएको थियो। लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील यस विद्यालयले अनुशासन, उत्कृष्ट नतिजा र सर्वाङ्गीण विकासमुखी शिक्षण पद्धतिका कारण कपिलवस्तु जिल्लामा विश्वासिलो शैक्षिक संस्थाको पहिचान बनाउँदै आएको छ।



