तौलिहवा, ५ फागुन २०८२
कपिलवस्तुमा यस वर्ष प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमका साथ मनाइने भएको छ। मंगलबार बसेको बैठकले जिल्लाका सबै सरकारी कार्यालय, स्थानीय तह तथा सम्बन्धित निकायहरूको समन्वयमा फागुन ६, ७ र ८ गते कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार तीन दिनसम्म जिल्लास्थित सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा सजाइनेछ भने साँझका समयमा कार्यालय परिसर र जिल्लावासीका घरघरमा सरसफाइ तथा दीप प्रज्ज्वलन गरिनेछ।
फागुन ७ गते बिहान ८ बजे कर्मचारी मिलन केन्द्रको व्यवस्थापनमा कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै साँझ ६ बजे गैरसरकारी महासंघ तथा मातहतका संस्थाहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि दीप प्रज्ज्वलन गरिनेछ।
फागुन ८ गते बिहान ८ बजे कपिलवस्तु नगरपालिकाको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सोही दिन बिहान १० बजे सामाजिक विकास डिभिजन कार्यालयको व्यवस्थापनमा तौलेश्वर संस्कृत माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक तथा अन्य आवश्यक सामग्री वितरण गरिने कार्यक्रम छ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख आचार्यले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विगत वर्षझैँ भव्य कार्यक्रम नगरी यसपटक दिवसलाई सभ्य, मर्यादित र व्यवस्थित रूपमा मनाइने जानकारी दिनुभयो।



