कुँवरको व्यक्तित्व मन परेपछि पहिलो मत तारामा खसाल्दैछौँ


पालिका पत्र

६ फाल्गुन २०८२, बुधबार १९:४२ मा प्रकाशित

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा बस्ने सिर्जना थापा अहिले १८ वर्षकी भइन् । उनले प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनबाट पहिलो पटक मताधिकार प्रयोग गर्दैछिन् । मत खसाल्ने अधिकार पाउँदा उनी निकै उत्साहित देखिन्छिन् ।

“आमाबुबा यसअघिका चुनावमा मत हाल्न जाँदा हामीलाई पनि रहर लाग्थ्यो । तर मतदाता परिचयपत्र नहुँदा भोट हाल्न पाउँदैनथ्यौँ,” उनले भनिन् । उनकी साथी अनिसा बस्नेत पनि यसपटक पहिलो पटक मतदान गर्दैछिन् । भोटिङ कार्ड बनाइसकेकी बस्नेत पनि मताधिकार प्रयोग गर्न पाउँदा निकै उत्सुक छिन् । थापा र बस्नेत दुवैजना आफूले कसलाई मत दिने भन्नेमा स्पष्ट देखिन्छन् ।

चुनावी माहोल बुझ्ने क्रममा बाणगंगा नगरपालिका–८ ढोडेकोला पुगेका बेला उनीहरू एक दलको झण्डा अंकित टिसर्ट लगाएर र तारा चिन्ह अंकित झण्डा बोकेर हिँडिरहेका थिए । उनीहरूले समर्थन गरेको दल नेपाली कम्युनिष्ट पार्टी रहेको र आफूहरू तारा चिन्हमा मतदान गर्ने बताए ।

कुराकानीका क्रममा उनीहरूले राजनीतिक चेतसमेत प्रष्ट पारे । सिर्जनाले भनिन्, “मतदान गोप्य हुन्छ भन्ने थाहा छ । तर हामी युवाहरू नै प्रष्ट हुन सकेनौँ भने राम्रो व्यक्तिले चुनाव हार्ने डर हुन्छ । त्यसैले मत दिने विषयमा स्पष्ट हुनुपर्छ ।” उनले थपिन्, “हाम्रा बुबाआमाले पहिले मान्छे नचिनी चिन्ह हेरेर मत खसाल्दा पछुताउनु परेको छ ।”

कपिलवस्तु क्षेत्र नम्बर १ मा धेरै उम्मेदवार मत माग्न आएको उल्लेख गर्दै उनले सही र इमानदार व्यक्ति छान्नुपर्ने आवश्यकता औँल्याइन् । “तारा चिन्हमा उठेका वरिष्ठ समाजसेवी कृष्ण बहादुर कुँवरबारे धेरै सुनेका छौँ । उहाँको व्यक्तित्व पनि राम्रो थाहा पाएपछि पहिलो मत नै उहाँलाई खसाल्दैछौँ,” थापाले भनिन् । “यस्तो व्यक्ति हारे हाम्रो समाज हार्छ । उहाँबाट नै मतदान सुरु गर्दैछौँ । अब स्थानीय र प्रदेशमा पनि मत हाल्ने अवसर पाइनेछ ।”

धेरैले घण्टी चिन्हबारे चर्चा गरिरहेको सन्दर्भमा उनले भनिन्, “देशमा घण्टी बजोस्, त्यो राम्रो हो । तर मेरो क्षेत्रमा कुँवरजस्तो व्यक्ति जित्नुपर्छ । यहाँ घण्टीको उम्मेदवार को हो, म चिन्दिनँ । नचिनेकोलाई नयाँ भनेर कसरी मत दिने ?” उनले थपिन्, “बुबाआमाले सूर्य, रुख, हँसिया–हथौडामा पनि मान्छे नचिनेर मत हाल्नुभयो, अहिले पछुताउनु भएको छ । हामी युवाले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन । यसपटक पार्टी जे भए पनि हामी तारामा मतदान गर्दैछौँ । तारा चिन्ह कसको हो भन्नेभन्दा पनि कृष्ण कुँवर सम्झेर मत खसाल्दैछौँ ।”

कुँवरबारे कसैले पनि नराम्रो नबोलेको उनीहरूले बताए । हाल प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमध्ये सबैभन्दा सक्षम र अब्बल उम्मेदवार कृष्ण बहादुर कुँवर नै रहेको धेरैले बताउने उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्