अफवाहको खण्डन गर्दै थारुले भने-दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो


पालिका पत्र

६ फाल्गुन २०८२, बुधबार २०:१६ मा प्रकाशित

कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ। पार्टीको सबैभन्दा बलियो संगठन मानिने वाणगंगा नगरपालिका र दक्षिणी पालिकामा यतिबेला नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन्।

मंगलबार वाणगंगा नगरपालिका वडा नं १ बैरियामा निर्वाचन केन्द्रित प्रचार–प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ। सो अवसरमा बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार विश्राम प्रसाद थारु ले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको बताउनुभयो। दक्षिणी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र उम्मेदवार परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै उहाँले त्यसप्रति खण्डन गर्नुभयो।

उम्मेदवार थारुले आफू घरदैलो अभियानमा जाँदा दक्षिणी क्षेत्रका मतदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो। उहाँका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका विकास निर्माण तथा जनमुखी कामका कारण मतदाता उत्साहित देखिएका छन्। कपिलवस्तु क्षेत्र नं १ विकास, पूर्वाधार र समृद्धिका हिसाबले अग्रपंक्तिमा रहेको र त्यसको प्रमुख श्रेय एमालेको नेतृत्वलाई जाने कुरा पनि उहाँले मतदातामाझ स्पष्ट पार्नुभयो। पार्टी भित्र अवसर र लाभका लागी आउने र जाने क्रम चलिरहने भएपनि नेकपा एमालेलाइ त्यसले कुनै असर नगर्ने स्पस्ट पार्नुभयाे ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थी ले आगामी दुई वर्षभित्र अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो। पालिका, प्रदेश र संघीय तहमा विकासका दृष्टिले उल्लेखनीय कामहरू सम्पन्न भइसकेको र बाँकी योजनाहरू पनि १–२ वर्षभित्र पूरा गरिने आश्वासन दिनुभयो। हामीले निर्वाचन ढुक्कका साथ दिन्छाैं नेता कार्यकर्ता उत्साहका साथ परिचालन हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले हिजोको कपिलवस्तु र आजको कपिलवस्तुमा ठूला परिवर्तन देखिएको र सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो। पूर्व पश्चिम राजमार्ग स्तराेन्नती, हुलाकी सडक, पुल, सिमा जाेड्ने सडक, स्वास्थ्य पूर्वाधार विकास, कृषि, पर्यटकीय, यातायात, संचार लगाएतकाे क्षेत्रमा फड्काे मारेकाे छ, सांसद पन्थीले भन्नुभयाे। राष्ट्रियता, समृद्धि र जनजीविकाको सवालमा एमालेले बलियो आधार तयार गरिरहेको बताउँदै उहाँले एमालेको जित अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक डम्मर शर्मा, प्रदेश कमिटी सदस्य तथा वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, उमानाथ पाैडेल, गंगा भट्टराई, राम प्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो।

वैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष खगेरश्वर अधिकारी ले गर्नुभएको थियो भने सञ्चालन सचिव सन्तोष गैरे र स्वागत मन्तव्य उपाध्यक्ष चेत नारायण भट्टराई ले गर्नुभएको थियो।

सम्पर्क कार्यालय सञ्चालनमा आएलगत्तै घरदैलो कार्यक्रमलाई अझ सशक्त, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइने, संगठनलाई थप चलायमान बनाइने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्रता दिइने वडा कमिटी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्